ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलद्वारा आमाको माया छात्रावासलाई जाडो सहयोग

वीरगञ्ज, १० पुस ।

 

ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलले जाडोयामलाई लक्षित गर्दै वीरगञ्ज जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासमा आश्रित बालबालिकालाई १० थान थर्मस सहयोग प्रदान गरेको छ।

 

जाडोयाममा न्यानो तथा स्वास्थ्यकर गरम पानी सेवन गर्न सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो। क्लबकी अध्यक्ष नाभ्या खेतानका अनुसार क्लबका विद्यार्थीहरूले आफ्नै खाजाको रकम बचत गरी सामाजिक उत्तरदायित्व अन्तर्गत थर्मस खरिद गरी सहयोग गरेका हुन्। उनले सानो योगदानले पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सन्देश दिन यो पहल गरिएको बताइन्।

 

सहयोग हस्तान्तरण कार्यक्रम क्लबकी अध्यक्ष नाभ्या खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई तथा विशिष्ट अतिथि प्रकाश कर्ण र सञ्चारकर्मी अभिलाष गुप्ताको उपस्थिति रहेको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौगाईले विद्यार्थीहरू सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय हुनु प्रशंसनीय रहेको बताउँदै ईन्टरएक्ट क्लबको सेवाभाव अनुकरणीय रहेको उल्लेख गरे।

 

त्यसैगरी विशिष्ट अतिथि प्रकाश कर्णले छात्रावासमा रहेका बाँकी १६ जना विद्यार्थीका लागि आगामी एक साताभित्र १६ थान थर्मस सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रमका अवसरमा बालबालिकालाई मोजा वितरण गर्नुका साथै केक काटेर खुवाइएको थियो। कार्यक्रम आत्मीय, खुशीपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित