धनुषा। नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालय भवन धनुषा जिल्लामा उद्घाटन गरिएको छ। मधेश प्रदेशको धनुषा जिल्लास्थित तुल्सियाहीमा रहेको वैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालयको नयाँ भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत निर्माण गरिएको हो।

नयाँ विद्यालय भवनको उद्घाटन भारतका महामहिम राजदूत श्री देवी सहाय मीना तथा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष श्री जय कुमार यादवले संयुक्त रूपमा गर्नुभएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

विद्यालय भवन तथा सम्बन्धित भौतिक संरचनाको निर्माण HICDP परियोजनाअन्तर्गत गरिएको हो, जसको कार्यान्वयन मुखियापट्टी मुसहरनिया गाउँपालिकामार्फत गरिएको थियो। उक्त विद्यालय धनुषा जिल्लाका अग्रणी सरकारी विद्यालयहरूमध्ये एक हो।

विद्यालयले प्रारम्भिक बाल विकास (ECD) देखि कक्षा १२ सम्मको शिक्षा प्रदान गर्दै आएको छ। साथै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग सम्बन्धित रही कम्प्युटरमा १८ महिनाको प्रि–डिप्लोमा कोर्स समेत सञ्चालन गर्दै आएको छ। विद्यालयमा हाल करिब २,५०० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ६० प्रतिशत छात्रा रहेका छन्।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिएको विकासात्मक सहयोगको प्रशंसा गर्दै यसले शैक्षिक वातावरण सुदृढ गर्न र शिक्षाको गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
HICDP परियोजनामार्फत भारत–नेपालबीचको गहिरो विकास साझेदारी झल्किने बताउँदै यसले प्राथमिकता प्राप्त क्षेत्रहरूमा पूर्वाधार विकास गर्दै नेपाल सरकारको विकास प्रयासलाई सुदृढ बनाउँदै आएको जनाइएको छ।










