,

वीरगंजमा बालबालिकाका लागि निःशुल्क मस्तिष्कसम्बन्धी दुईदिने स्वास्थ्य जाँच सम्पन्न

पवन साह Avatar
वीरगंजमा बालबालिकाका लागि निःशुल्क मस्तिष्कसम्बन्धी दुईदिने स्वास्थ्य जाँच सम्पन्न

अभिलाष गुप्ता

वीरगंज/४ पौष

 

वीरगंज स्थित आसा किरण केन्द्रमा बालबालिकालाई लक्षित गरी मस्तिष्कसम्बन्धी निःशुल्क दुईदिने स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँबाट आउनु भएका वरिष्ठ न्युरोलोजिस्ट डा. वसन्त पन्तको नेतृत्वमा ११ जना विशेषज्ञ चिकित्सकहरूको टोलीले केन्द्रमा आश्रित बालबालिकाको स्वास्थ्य परीक्षण गरेको हो।

कार्यक्रमअन्तर्गत बालबालिकाको स्नायुतन्त्र, मानसिक विकास, व्यवहारिक समस्या, मिर्गी, विकासजन्य ढिलाइ लगायतका मस्तिष्कसम्बन्धी समस्याको परीक्षण तथा परामर्श प्रदान गरिएको थियो। जाँचका क्रममा आवश्यक परे थप उपचार, औषधि तथा दीर्घकालीन फलोअपका विषयमा अभिभावक तथा केन्द्रका शिक्षकलाई परामर्श समेत दिइएको डा. पन्तले जानकारी दिनुभयो।

 

आसा किरण केन्द्रका अध्यक्ष सुनिल गुप्ताले आर्थिक अभावका कारण नियमित स्वास्थ्य सेवा लिन नसक्ने बालबालिकाका लागि यस्तो निःशुल्क कार्यक्रम अत्यन्तै उपयोगी भएको बताउनुभयो। उहाँले यस्ता स्वास्थ्य शिविरले बालबालिकाको समयमै समस्या पहिचान भई उचित उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा आसा किरण केन्द्रका अध्यक्ष सुनिल गुप्ता, श्रीमती मधु राणा, शिक्षक मार्टिन मोक्तान तथा केन्द्रका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले स्वास्थ्य सेवासँगै बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता सामाजिक पहललाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

 

आसा किरण केन्द्रले आगामी दिनमा पनि विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।