अभिलाष गुप्ता
वीरगंज २९ मंसिर
वीरगंज । मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले बदलिँदो समय र परिवेशअनुसार सञ्चारकर्मीहरूले आफूलाई निरन्तर अपडेट गर्न आवश्यक रहेको बताउनुभएको छ। विज्ञान र प्रविधिले हासिल गरेको प्रगतिलाई समयमै आत्मसात् गर्न नसक्दा पछाडि पर्ने जोखिम रहने उहाँको भनाइ छ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा पर्साका सञ्चारकर्मीहरूका लागि आज वीरगञ्जमा आयोजित कृत्रिम बौद्धिकता (एआई) प्रयोगसम्बन्धी एकदिने तालिम कार्यक्रमको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री राउतले समाजलाई सचेत र जागरुक बनाउने महत्वपूर्ण जिम्मेवारी वहन गर्ने सञ्चारकर्मीहरूका लागि प्रविधिमैत्री हुनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले आफू मधेस प्रदेशको मुख्यमन्त्री रहँदा सञ्चारकर्मीहरूको सीप, क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आमसञ्चार प्राधिकरण गठन गरिएको स्मरण गर्दै आज वीरगञ्जमा प्राधिकरणले एआईसम्बन्धी तालिम सञ्चालन गरेको देख्दा खुशी लागेको बताउनुभयो।

सञ्चारकर्मीहरूको हितका लागि स्थापना गरिएको आमसञ्चार प्राधिकरणको संरचनामा हालसम्म अपेक्षित विस्तार हुन नसक्नु दुःखद् भएको उल्लेख गर्दै पूर्व मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको विकासले समाजमा सुशासन प्रवर्द्धन, विभेद अन्त्य तथा लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी, अन्तर्राष्ट्रिय पत्रकार महासंघ एसिया–प्रशान्त क्षेत्रका सहसचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सचिव दीपक गौतम तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनालले आ–आफ्ना धारणा राख्नुभएको थियो। वक्ताहरूले सञ्चार क्षेत्रमा एआईको प्रयोगले चुनौतीसँगै अवसरका नयाँ ढोका खोलेको उल्लेख गर्दै प्रविधिलाई आत्मसात् गरे सुशासन प्रवर्द्धनसँगै गुणस्तरीय पत्रकारिताको विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी ६० जनाभन्दा बढी सञ्चारकर्मीहरूलाई एआई प्रयोगका विविध पक्षबारे सुरेश विडारी र प्रकाश मैनालीले प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा कृत्रिम बौद्धिकताको प्रयोगले सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि हुनुका साथै समयसापेक्ष र गुणस्तरीय समाचार तथा सामग्री उत्पादनमा कसरी सहयोग पुग्छ भन्ने विषयमा सहभागीहरूलाई विस्तृत जानकारी गराइएको थियो।










