वीरगंज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा महिलाको स्वास्थ्यलाई केन्द्रमा राखेर निःशुल्क स्वास्थ्य शिविर तथा भिआइए (VIA) स्क्रिनिङ कार्यक्रम आयोजना गरिएको छ। नेपाल महिला संघ पर्साको पहलमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय महिलाहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूलाई स्वास्थ्य परीक्षणमा सहज पहुँच प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा सामान्य स्वास्थ्य जाँचसँगै पाठेघरसम्बन्धी रोग पहिचानका लागि भिआइए स्क्रिनिङ सेवा उपलब्ध गराइएको थियो। शिविरमा सहभागी ५० जना महिलामध्ये ४ जनामा प्रारम्भिक संक्रमण देखिएको र उनीहरूलाई थप उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको आयोजकले जानकारी दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री रमेश रिजालले शिविरको उद्घाटन गर्दै महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्न राज्य, समाज र परिवार सबैको भूमिका महत्वपूर्ण हुने बताए। उनले नियमित स्वास्थ्य परीक्षणले गम्भीर रोगबाट जोगिन सकिने उल्लेख गर्दै यस्ता कार्यक्रम ग्रामीण महिलाका लागि अत्यन्त उपयोगी रहेको धारणा राखे।
नेपाल महिला संघ पर्साका तर्फबाट बोल्दै आयोजक किरण शर्माले ग्रामीण महिलाहरूमा अझै पनि स्वास्थ्य जाँचप्रति चेतनाको कमी रहेको उल्लेख गरे। उनले निःशुल्क स्वास्थ्य शिविरमार्फत महिलाहरूलाई समयमै रोग पहिचान र उपचारतर्फ आकर्षित गर्न सकिने बताए।
शिविरबाट लाभान्वित स्थानीय महिलाहरूले गाउँमै स्वास्थ्य सेवा पाउँदा सन्तुष्टि व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा महिला संघका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
नेपाल महिला संघ पर्साले आगामी दिनहरूमा पनि महिलाको स्वास्थ्य प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।










