अभिलाष गुप्ता
वीरगंज, २० मंसिर
रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजको सहकार्यमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मुर्ली बगैचास्थित रेडियो परिसरमा आयोजित कार्यक्रममा २७ महिलासहित २०८ जनाले रक्तदान गर्दै समाजसेवाप्रति उच्च उत्साह प्रकट गरेका छन्।
कार्यक्रमको अध्यक्षता रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका थिए। कार्यक्रममा भारतीय महावाणिज्य दूतावास, वीरगंजका दूत डी.एस. मिना, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, युवा नेता ओमप्रकाश सराफ, नेपाल रेडक्रस सोसाइटी रेशमकोठि उपशाखाका स–कोषाध्यक्ष अभिलाष गुप्ता, ग्रीनसिटी अध्यक्ष जयप्रकाश खेतान तथा विभिन्न सञ्चारकर्मी र संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रह्यो।
त्यसैगरी संघीय सरकारका पूर्व कानुन मन्त्री अजय चौधरी, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पूर्व मेयर नितेन्द्र साह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठक, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता नेजामुदिन सम्मानी, नेपाली कांग्रेसका युवा नेता लुकेश सिंह, अनिल कुमार साहलगायतका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा प्राविधिक टोलीले सफलतापूर्वक सञ्चालन गरेको हो।
कार्यक्रमका अध्यक्ष ध्रुव साहले रक्तदानलाई ‘मानवीय सेवा र समाजप्रतिको दायित्व’ भन्दै २३औँ वार्षिकोत्सवमा समाजहितमा योगदान गर्न पाएकोमा गर्व व्यक्त गरे।
उनले भने, “समाजसेवा नै रेडियो वीरगंजको मूल मूल्य हो। २०८ जना दाताहरूले देखाएको सहभागिताले वीरगंजको मानवता र एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। भविष्यमासमेत रेडियो वीरगंज समाजहितका यस्ता अभियानलाई अझ सशक्त रूपमा अघि बढाउँदै जानेछ।”









