वीरगन्जस्थित सिटीनेट नेपाल राष्ट्रिय बैठक सम्पन्न: दिगो विकास,विपद् व्यवस्थापन र सहकार्यका १२ बुँदे निर्णय

अभिलाष गुप्ता

वीरगन्ज १८ मंसिर

 

वीरगन्जमा बिहीबार सम्पन्न सिटीनेट नेपाल नेशनल च्याप्टर (CNNc) को राष्ट्रिय बैठक भव्य रूपमा सम्पन्न भयो। देशभरका ६ महानगरपालिका, उपमहानगर तथा नगरपालिकाका प्रमुख–उपप्रमुखहरूको सहभागितामा भएको बैठकको आयोजनामा वीरगन्ज महानगरपालिका थिए।

 

बैठकमा शहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, शहरहरूबीच सहकार्य, तथा आगामी वर्षका योजनाहरू विषयमा विस्तृत छलफल गरियो। सहभागी नगरपालिकाले विपद् जोखिम न्यूनीकरण, अनुसन्धान तथा शिक्षण केन्द्र स्थापना गर्ने सैद्धान्तिक सहमति जनाए।

 

बैठकले वीरगन्ज महानगरको समन्वयमा विपद् सम्बन्धी कोष स्थापना, नगरपालिका समूह दर्ता, वार्षिक कार्ययोजना तयार, फोकल पर्सन तोक्ने, छ–छ महिनामा बैठक बस्ने, सचिवालय दर्ता सुरु गर्ने, तथा आगामी बैठक जेठ महिनामा ललितपुरको गोदावरी नगरपालिकामा आयोजना गर्ने निर्णय गरियो। साथै सहजीकरणका लागि सानो इकाइ गठन गर्ने पनि निर्णय भयो।

 

कार्यक्रममा प्रा. आममोदनी दीक्षित र डा. गणेश कुमार जिसीले सिटीनेटको आवश्यकता, अवधारणा र सिकाइका अनुभव प्रस्तुत गरे। मेयर राजेशमान सिंहले सिटीनेटमार्फत भएका अनुभव आदानप्रदानले वीरगन्जमा दिगो विकास तथा विपद् व्यवस्थापनका योजनामा महत्वपूर्ण सहयोग गरेको बताए।

 

उद्घाटन सिटीनेट नेपालका राष्ट्रिय अध्यक्ष तथा विराटनगर मेयर नागेश कोइराला र वीरगन्ज मेयर सिंहले गमलामा पानी हालेर गरे। कार्यक्रमको प्रारम्भमा काठमाडौं मेयर बालेन्द्र साह (बालेन) का स्वर्गीय पिताप्रति मौन धारण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

 

सिटीनेट एसिया–प्रशान्त क्षेत्रका १०३ सदस्य रहेको ठूला सहरहरूको सञ्जाल हो। नेपालमा १६ पालिकाहरू यसमा आबद्ध छन्, जसमा काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, भरतपुर र वीरगन्ज लगायत मुख्य सहरहरू समावेश छन्।

 

कार्यक्रमले नेपालका प्रमुख सहरहरूलाई उत्थानशील, दिगो र सुरक्षित बनाउने दिशा तय गर्दै सफलतापूर्वक समापन गरियो।

सम्बन्धित