गौशाला, कात्तिक ८ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित कान्ति बजार कृषि सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार कान्ति बजारमा आयोजित एक कार्यक्रमबीच संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष बसन्त कुमार योञ्जनको अध्यक्षतामा सम्पन्न सभामा गौशाला नगरपालिका–१२ का वडाध्यक्ष कुशेश्वर सिंह कुशाहा प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा वडाध्यक्ष कुशाहाले सहकारी संस्थाले स्थानीयस्तरमा बचत तथा ऋण परिचालनमार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउन सक्ने बताउँदै संस्थाको प्रगतिको शुभकामना व्यक्त गरे। उनले सहकारीको पारदर्शिता, सुशासन र सदस्यकेन्द्रित सेवामा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडा सदस्य रिंकु देवी राम र शैखीलाल राउतको विशिष्ट उपस्थिति रहेको थियो। त्यसैगरी संस्थाकी उपाध्यक्ष सखिया देवी, कोषाध्यक्ष राजकिशोर शाह, सचिव सन्तलाल महतो, सदस्य दिनेश महतोलगायत शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
संस्थाका सचिव सन्तलाल महतोका अनुसार कान्ति बजार कृषि सहकारी संस्था लिमिटेड २०७३ फागुन २७ गते कान्ति बजारमा २५ जना सदस्यबाट सुरु भएको हो। प्रारम्भमा १ लाख २५ हजार रुपैयाँ शेयर पुँजीबाट सञ्चालनमा आएको संस्थामा अहिले सदस्य सङ्ख्या बढेर ६४६ पुगेको छ ।
संस्थाको हालको शेयर पुँजी ४ लाख ६२ हजार ३०० रुपैयाँ रहेको छ भने बचत रकम ४ लाख ५१ हजार १४७ रुपैयाँ पुगेको छ। त्यस्तै, संस्थाले सदस्यहरूलाई ४ लाख १५ हजार रुपैयाँ ऋण लगानी गरेको सचिव महतोले जानकारी दिए।
आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाले ६२ हजार ८४३ रुपैयाँ नाफा आर्जन गरेको छ । सोही अवधिसम्म संस्थामा १५ लाख ९ हजार ८०९ रुपैयाँ बराबरको कारोबार भएको सचिव महतोले बताए ।
२५ जना सदस्य र १ लाख २५ हजार रुपैयाँ शेयर पुँजीबाट सुरु भएको सहकारीमा सदस्य सङ्ख्या विस्तार हुँदै ६४६ पुग्नु संस्थाको विकासक्रमको महत्वपूर्ण पक्ष हो। सहकारीले बचत गर्ने बानीको विकास, सदस्यहरूलाई आवश्यक ऋण उपलब्ध गराउने तथा स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउने उद्देश्यसहित आफ्नो सेवा विस्तार गर्दै आएको छ ।
१० औँ वार्षिक साधारणसभाले संस्थाको आर्थिक अवस्था, हालसम्मका गतिविधि र आगामी कार्यदिशाबारे समीक्षा गर्ने अवसर प्रदान गरेको छ। सहकारीको दिगो विकासका लागि आर्थिक पारदर्शिता, नियमित बचत, ऋणको प्रभावकारी परिचालन र सदस्यहरूको सक्रिय सहभागिता महत्वपूर्ण हुने देखिन्छ ।









