भारत विकास परिषदद्वारा मेधावी विद्यार्थी सम्मानित

 

रक्सौल। विद्यार्थीमा अध्ययनप्रति रुचि बढाउने, प्रतिभाको सम्मान गर्ने तथा भारतीय संस्कृति र गौरवशाली इतिहासबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले भारत विकास परिषद्, रक्सौल शाखाले उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय झोला प्रदान गरी सम्मान गरेको छ।

परिषद्ले गत अगस्ट ३१ मा आयोजित अखिल भारतीय ‘भारतलाई चिनौँ’ प्रतियोगिता तथा सेप्टेम्बर २७ मा सम्पन्न शाखास्तरीय प्रश्नमञ्च प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई उनीहरूकै विद्यालयमा पुगेर सम्मान गरेको हो। सम्मानित विद्यार्थीलाई विद्यालय झोला, शैक्षिक सामग्री तथा आकर्षक उपहार प्रदान गरिएको थियो।

प्रतियोगितामा एस.ए.भी. स्कुलकी कक्षा ८ की छात्रा समृद्धि श्रेयाले लिखित परीक्षामा ५० पूर्णाङ्कमध्ये ४४ अङ्क प्राप्त गर्दै सहभागी नौ विद्यालयमध्ये रक्सौलमै सर्वाधिक अङ्क हासिल गरेकी थिइन्। त्यस्तै, क्याम्ब्रिज पब्लिक स्कुलका अभिनव मिश्र र मयंक कुमारले क्रमशः वरिष्ठ तथा कनिष्ठ समूहमा उत्कृष्ट स्थान हासिल गरेका थिए।

वरिष्ठ समूहमा द चन्द्रशील स्कुलका अंकित कुमारले लिखित परीक्षामा प्रथम र प्रश्नमञ्चमा द्वितीय स्थान प्राप्त गरे। कनिष्ठ समूहमा सेन्ट माइकल इङ्लिस स्कुलका सर्वेश साहले लिखित परीक्षामा प्रथम तथा प्रश्नमञ्च प्रतियोगितामा द्वितीय स्थान हासिल गरे।

परिषद्का अध्यक्ष रजनीश प्रियदर्शीले विद्यार्थीको सम्मान उनीहरूभित्र रहेको प्रतिभालाई प्रोत्साहन गर्ने माध्यम भएको बताए। उनले ‘भारतलाई चिनौँ’ जस्ता प्रतियोगिताले विद्यार्थीलाई देशको इतिहास, संस्कृति, महापुरुष र गौरवशाली परम्परासँग जोड्ने उल्लेख गरे।

परिषद्का संस्कार संयोजक नीतेश कुमार सिंह तथा कोषाध्यक्ष सुनील कुमारले आधुनिक शिक्षासँगै सांस्कृतिक ज्ञान र परम्पराको जानकारी पनि आवश्यक रहेको बताए। संगठन सचिव अजय कुमारले प्रतिभाशाली विद्यार्थीलाई उचित अवसर र प्रोत्साहन दिनुपर्नेमा जोड दिए। सेवा संयोजक एवं सञ्चार प्रभारी बिमल कुमार सर्राफले शैक्षिक सामग्री वितरणले विद्यार्थीलाई अध्ययनमा थप उत्साहित बनाउने बताए।

परिषद्को यस पहलको क्याम्ब्रिज पब्लिक स्कुलका निर्देशक विकास गिरि तथा प्रधानाध्यापक देवेश कुमार पाण्डेय, एस.ए.भी. स्कुलका निर्देशक एवं प्रधानाध्यापक साइमन रेक्स, सेन्ट माइकल इङ्लिस स्कुलका प्रधानाध्यापक सत्यजीत दास तथा द चन्द्रशील स्कुलका प्रधानाध्यापक मुकेश कुमार सिन्हा र वरिष्ठ शिक्षक पंकज कुमार झाले प्रशंसा गरेका छन्।

उनीहरूले यस्ता गतिविधिले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुग्नुका साथै विद्यालय र सामाजिक संस्थाबीच सकारात्मक सहकार्य बढ्ने बताए।

परिषद् परिवारले सम्मानित सबै विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेको छ। कार्यक्रमसम्बन्धी जानकारी परिषद्का सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं सञ्चार प्रभारी बिमल कुमार सर्राफले दिएका हुन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित