रक्सौल। शारदीय नवरात्रको महानवमीको अवसरमा भारत विकास परिषद्, रक्सौल शाखाले सोमबार कोईरिया टोलास्थित शिवनारायण कम्प्लेक्समा कन्या पूजन, कन्या सम्मान तथा संस्कार समारोह आयोजना गरेको छ। कार्यक्रममा ४० जना बालिकाको विधिपूर्वक पूजन गरी उनीहरूलाई भोजनप्रसाद, शैक्षिक सामग्री, नरिवल तथा उपयोगी उपहार प्रदान गरिएको थियो।
बालिका शिक्षालाई प्रोत्साहन गर्ने, नारीको सम्मान गर्ने र छोरीहरूको संरक्षण गर्ने सन्देशसहित आयोजित कार्यक्रममा परिषद्की महिला सहभागिता प्रमुख मेनका गुप्ताको नेतृत्वमा बालिकाहरूको खुट्टा पखालेर पूजन तथा शृङ्गार गरिएको थियो। वैदिक मन्त्र उच्चारणका बीच माता दुर्गाको आराधना र आरतीपछि बालिकाहरूलाई भोजनप्रसाद खुवाउनुका साथै उपहार दिएर सम्मान गरिएको थियो।
पूजा तथा आराधना कार्यक्रममा शाखा अध्यक्ष रजनीश प्रियदर्शी, कोषाध्यक्ष सुनील कुमार, सीमा गुप्ता, किरण जायसवाल, मेनका गुप्ता, पूनम सर्राफ, डा. अदिति गुप्ता र शाम्भवी जायसवाललगायतको सहभागिता थियो।
कार्यक्रममा शाखा अध्यक्ष रजनीश प्रियदर्शी र सचिव नरेश कुमारले छोरीहरू समाज र राष्ट्रका बलिया आधारस्तम्भ भएको बताए। उनीहरूलाई गुणस्तरीय शिक्षा, असल संस्कार र स्वास्थ्य सेवा उपलब्ध गराउनु समाजको सामूहिक जिम्मेवारी भएको उल्लेख गर्दै छोरीहरूलाई समान अवसर र सम्मान प्रदान गरेर मात्र शिक्षित, संस्कारित तथा सशक्त भारत निर्माण गर्न सकिने धारणा व्यक्त गरे।
त्यसैगरी, महिला सहभागिता प्रमुख मेनका गुप्ताले भारतीय संस्कृतिमा नारीलाई शक्तिस्वरूपा मानिने र नवरात्रमा कन्या पूजनको विशेष महत्त्व रहेको बताइन्। तर, छोरीहरूप्रतिको सम्मान धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी दैनिक सामाजिक व्यवहारमा समेत उतार्नुपर्नेमा उनले जोड दिइन्।
कन्या भ्रूण हत्या, यौन शोषण र दाइजोका कारण हुने उत्पीडनजस्ता सामाजिक कुरीति अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउँदै गुप्ताले भनिन्, “छोरी बचाउँछौँ भने मात्र सृष्टि बच्नेछ, छोरीहरू छन् भने भविष्य छ।” छोरीहरूको सुरक्षा, शिक्षा र सम्मान सुनिश्चित गर्नु प्रत्येक नागरिकको दायित्व भएको उनको भनाइ थियो।
परिषद्का संस्कार संयोजक नीतेश कुमार सिंह र संगठन सचिव अजय कुमारले परिषद्को विद्या विकास अभियानअन्तर्गत ‘बेटी बचाओ, बेटी पढाओ’ अभियानलाई प्रभावकारी बनाउन रक्सौल अनुमण्डलका विभिन्न सरकारी विद्यालयमा अध्ययनरत छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए। बालिकाहरूलाई शिक्षाप्रति प्रोत्साहित गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउनु अभियानको मुख्य उद्देश्य रहेको उनीहरूले बताए।
यसैगरी, परिषद्का सेवा संयोजक तथा सञ्चारमाध्यम प्रभारी बिमल कुमार सर्राफ र विजय कुमार साहले भारत सरकारको ‘एनिमिया मुक्त भारत’ अभियानलाई गति दिन रक्सौल शाखाले प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा नगरका विभिन्न विद्यालय, विशेषगरी सरकारी विद्यालयमा निःशुल्क रक्तअल्पता परीक्षण शिविर सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए। शिविरमा छात्राहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक चिकित्सकीय परामर्श र आवश्यकताअनुसार औषधि उपलब्ध गराउने पहल गरिने उनीहरूले बताए।
कार्यक्रमलाई सफल बनाउन मेनका गुप्ता, सीमा गुप्ता, किरण जायसवाल, पूनम सर्राफ, डा. अदिति गुप्ता, शाम्भवी जायसवाल, सुनील कुमार, नीतेश कुमार सिंह, प्रशान्त कुमार, अजय कुमार, विजय कुमार साह, अरविन्द जायसवाल, सुरेश धानोठिया, विनोद कुमार र दिनेश प्रसादलगायत परिषद्का सदस्यहरूले योगदान दिएका थिए।
कार्यक्रमबारे जानकारी परिषद्का सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं सञ्चारमाध्यम प्रभारी बिमल कुमार सर्राफले दिएका हुन्।









