वीरगञ्ज । दशैँ पर्वको अवसरमा वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले गहवामाई मन्दिर अगाडि स्वास्थ्य शिविर सञ्चालनदेखि प्रसाद वितरणसम्मका कार्यक्रम गर्ने भएको छ।
नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले गहवामाई मन्दिरमा दशैँ पूजाका अवसरमा गहवा युथ क्लब र मन्दिर व्यवस्थापन समितिसँगको समन्वयमा विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्न लागेको हो।
कलेजले सार्वजनिक गरेको कार्यक्रमअनुसार असोज ३० गतेदेखि कार्तिक १ गतेसम्म तीन दिन स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। यसैगरी, असोज ३० गते साँझ ६ बजेदेखि खीर वितरण तथा कार्तिक १ गते साँझ ६ बजेदेखि चना र भुजा वितरण गरिने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रम गहवामाई मन्दिरको मुख्य प्रवेशद्वारको बायाँपट्टि स्थापना गरिने नेसनल मेडिकल कलेज तथा गहवा युथ क्लबको संयुक्त टेन्टबाट सञ्चालन गरिने जनाइएको छ।
दशैँका अवसरमा गहवामाई मन्दिरमा पूजा तथा दर्शन गर्न आउने श्रद्धालुहरूको स्वास्थ्य, सुरक्षा र सहजतालाई ध्यानमा राख्दै स्वास्थ्य शिविर तथा प्रसाद वितरण कार्यक्रम गर्न लागिएको कलेजले जनाएको छ।
नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको यस पहलले दशैँमा मन्दिर पुग्ने श्रद्धालुहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै प्रसाद वितरणमार्फत सहयोग पुग्ने अपेक्षा गरिएको छ।









