इन्दल राउत
गौशाला, असाेज २८ गते ।
महोत्तरीको गौशाला नगरपालिका–९ मा दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । गौशाला नगरपालिकाका युवाहरू, गौशाला नगर युवा सञ्जाल र उषा इन्जिनियरिङको संयुक्त पहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गौशाला नगर युवा सञ्जालका अध्यक्ष भरत महतो कोइरी (विजय), पत्रकार दिनेश महतो तथा उषा इन्जिनियरिङका सञ्चालक इन्जिनियर सञ्जु सिंहलगायत, संजालका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले दलित तथा पिछडिएका समुदायका बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न आफूहरू निरन्तर लागिपरेको बताएका थिए । शिक्षाबाट वञ्चित तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै शिक्षाप्रति अभिभावक र समुदायमा जनचेतना फैलाउनु कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
यसैबीच, स्थानीय रञ्जित पासमानले केही महिनादेखि बालबालिकालाई निःशुल्क ट्युसन पढाउँदै आएको कार्यको सहभागीहरूले प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए। समुदायका बालबालिकाको अध्ययनमा सहयोग पुर्याउने उनको प्रयासलाई सराहना गर्दै यस्ता सामाजिक कार्यले शिक्षा सुधारमा सकारात्मक योगदान पुर्याउने धारणा व्यक्त गरिएको थियो ।
कार्यक्रममा बोल्दै अज्रुद्दीन सरले मानव जीवनमा शिक्षाको महत्त्वबारे प्रकाश पार्दै शिक्षा नै व्यक्तिको विकास, सामाजिक चेतना र समाज परिवर्तनको महत्त्वपूर्ण आधार भएको बताए। उनले बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नगर युवा सञ्जालका सदस्यहरू तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। आयोजकहरूले दलित तथा पिछडिएका समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन र समाजमा शैक्षिक चेतना फैलाउन आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने बताएका छन् ।









