वीरगंज । नवरात्रको पहिलो दिन आज वीरगंज महानगरपालिका–१७, अलौंस्थित तिलावे पुलमा जल भर्न हजारौँ भक्तजनको घुइँचो लागेको छ। धार्मिक आस्था र भक्तिभावका साथ सम्पन्न कलश यात्रामा विभिन्न गाउँ तथा बस्तीबाट आएका श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कलश यात्रामा अलौं, विन्दवासिनी- बर्वागोग, सुगौली, सिर्सिया, छपकैया लगायतका क्षेत्रबाट हजारौँ भक्तजन तिलावे पुलमा जल भर्न पुगेका थिए। बिहानैदेखि पुल क्षेत्रमा भक्तजनहरूको चहलपहल बढेको थियो। नवरात्रको पहिलो दिन धार्मिक विधिअनुसार जल भरेर पूजाआजा गर्ने श्रद्धालुहरूको उपस्थितिले सम्पूर्ण क्षेत्र भक्तिमय बनेको थियो।
हिन्दू धर्मावलम्बीहरूका लागि नवरात्र विशेष धार्मिक महत्त्व बोकेको पर्व हो। यस अवधिमा देवी दुर्गाका विभिन्न स्वरूपको पूजा–आराधना गर्दै सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गर्ने परम्परा छ।
नवरात्रको सुरुवातसँगै अलौंस्थित तिलावे पुलमा देखिएको भक्तजनहरूको ठूलो उपस्थितिले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई समेत उजागर गरेको छ। विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको सहभागितामा सम्पन्न कलश यात्राले धार्मिक उत्साह र सामाजिक सद्भावको सन्देश दिएको छ।









