गाउँ छाडेर पढ्नुपर्ने बाध्यता घटाउँदै दिपनारायण विद्यालय….

 

 

हरिकिशोर शर्मा / असोज २२ जिराभवानी पर्सा

पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ औराहा पञ्चगावा (श्रीपुर)स्थित श्री दिपनारायण आदर्श नमुना माध्यमिक विद्यालय ग्रामीण क्षेत्रका विद्यार्थीका लागि माध्यमिक शिक्षादेखि उच्च शिक्षासम्मको महत्वपूर्ण शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

विद्यालयमा +२, विज्ञान तथा प्राविधिक शिक्षासँगै स्नातक तहसम्मका कार्यक्रम सञ्चालनमा आएपछि विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि गाउँ छाडेर टाढा जानुपर्ने बाध्यता क्रमशः घट्दै गएको विद्यालयले जनाएको छ।

विद्यालयको यो शैक्षिक विस्तारमा प्रधानाध्यापक शिवनाथ प्रसाद थारुको निरन्तर सक्रियता र नेतृत्वलाई महत्वपूर्ण मानिएको छ।

वि.सं. २०५८ सालमा अस्थायी शिक्षकका रूपमा शिक्षण सेवामा प्रवेश गरेका थारुले २०६३ सालमा स्थायी शिक्षकको जिम्मेवारी पाए।

त्यसको एक वर्षपछि २०६४ सालमा सहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि उनले विद्यालयको शैक्षिक अवस्था सुधार तथा विस्तारलाई प्राथमिकतामा राख्दै काम अघि बढाएका थिए।

त्यतिबेला कक्षा १० उत्तीर्ण गरेपछि ग्रामीण क्षेत्रका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि वीरगञ्जलगायतका बजार तथा शहरतर्फ जानुपर्ने अवस्था थियो। आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीका लागि बाहिर बसेर अध्ययन गर्नु थप चुनौतीपूर्ण हुने भएकाले गाउँमै उच्च शिक्षाको अवसर सिर्जना गर्ने योजना अघि सारिएको थियो।

थारुको पहलमा विद्यालयमा कक्षा ११ र १२ अर्थात् +२ तहको पढाइ सुरु भयो। प्रारम्भमा व्यवस्थापन र शिक्षा संकाय सञ्चालनमा ल्याइएकोमा वि.सं. २०६७ सालमा विज्ञान संकायसमेत थपियो।

त्यसपछि सखुवा प्रसौनी तथा आसपासका ग्रामीण क्षेत्रबाट विद्यार्थी अध्ययनका लागि विद्यालयमा आउन थाले।

वि.सं. २०७० सालमा प्रधानाध्यापकको जिम्मेवारी पाएपछि थारुले विद्यालयको शैक्षिक कार्यक्रमलाई थप विस्तार गरे। सोही वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ।

यससँगै विद्यालयले माध्यमिक तथा उच्च माध्यमिक शिक्षासँगै प्राविधिक शिक्षा प्रदान गर्ने संस्थाका रूपमा आफ्नो दायरा विस्तार गर्न थालेको हो।

शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले वि.सं. २०७५ सालदेखि टिच फर नेपालसँग सहकार्य गर्दै आएको छ।

उक्त सहकार्यअन्तर्गत अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकले विद्यालयमा सेवा दिएका थिए। विद्यालयका अनुसार सहकार्यबाट विद्यार्थीले छात्रवृत्तिलगायतका अवसरसमेत प्राप्त गर्दै आएका छन्।

विद्यालयको शैक्षिक गतिविधि र व्यवस्थापनका आधारमा वि.सं. २०७६ सालमा नमुना माध्यमिक विद्यालयका रूपमा थप पहिचान प्राप्त गरेको विद्यालयले जनाएको छ। त्यसपछि प्राविधिक तथा व्यावसायिक शिक्षाको दायरा विस्तार गर्दै वि.सं. २०७७ सालमा सिटिइभिटीअन्तर्गत डिप्लोमा इन सिभिल इन्जिनियरिङसमेत सञ्चालनमा ल्याइएको थियो।

त्यसैगरी वि.सं. २०८१ सालमा मधेस प्रदेशअन्तर्गतका प्राविधिक तालिम कार्यक्रममार्फत भवन निर्माण, ईसीडिएफ र सूचना प्रविधितर्फ ३०–३० जनाको कोटामा तालिम कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक थारुले जानकारी दिएका छन्।

विद्यार्थीको व्यक्तित्व विकास, अनुशासन र नेतृत्व क्षमता अभिवृद्धिका लागि वि.सं. २०८१ सालदेखि नेपाली सेनाको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीलाई एनसिसी तालिमसमेत सञ्चालन गरिएको छ। विद्यालयका अनुसार ९० दिने उक्त तालिम वि.सं. २०८३ सालमा पनि सञ्चालन भइरहेको छ।

विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरण तथा EVENT संस्थाको सहयोग र विद्यालयको पहलमा कम्प्युटर ल्याब सञ्चालनमा ल्याइएको छ।

भौतिक पूर्वाधारतर्फ पनि विद्यालयमा विभिन्न भवन, प्रयोगशाला, पुस्तकालय तथा छात्रावास निर्माण भएका छन्।

नमुना विद्यालय कार्यक्रमअन्तर्गत दुईवटा भवन, छात्रका लागि छात्रावास तथा प्रयोगशाला र पुस्तकालय भवन निर्माण गरिएको विद्यालयले जनाएको छ। शिक्षा मन्त्रालयको सहयोगमा थप चारवटा भवन निर्माण भएका छन्। तीमध्ये एउटा ६ कोठे र तीनवटा ४ कोठे भवन रहेका छन्।

जिल्ला विकास समिति पर्साको सहयोगमा छात्राका लागि छात्रावास भवनसमेत निर्माण गरिएको विद्यालयको भनाइ छ।

माध्यमिक, +२ र प्राविधिक शिक्षामा मात्रै सीमित नरहने लक्ष्यसहित विद्यालयले उच्च शिक्षातर्फ समेत कदम अघि बढाएको छ।

विद्यार्थीले स्नातक तह अध्ययनका लागि पनि गाउँ छाड्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले वि.सं. २०८२ सालमा मधेस विश्वविद्यालयबाट मान्यता प्राप्त गरी दिपनारायण पञ्चगावा बहुमुखी क्याम्पस सञ्चालनमा ल्याइएको हो।

क्याम्पसमा बिपिएएम र बिइएम कार्यक्रम सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका विद्यार्थीलाई स्नातक तह अध्ययनका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम भएको विद्यालयको भनाइ छ। विद्यार्थी तथा अभिभावकको मागअनुसार वि.सं. २०८३ सालमा बिबिए कार्यक्रमसमेत थप गरिएको छ।

यससँगै एउटै शैक्षिक संस्थाबाट विद्यालय तह, +२, विज्ञान, प्राविधिक शिक्षा हुँदै स्नातक तहसम्म अध्ययन गर्न सकिने संरचना तयार भएको छ।

ग्रामीण तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई घरनजिकै उच्च शिक्षा उपलब्ध गराउने विद्यालयको प्रयासले विद्यार्थी र अभिभावकका लागि शैक्षिक अवसर विस्तार गरेको छ।

बाहिर गएर अध्ययन गर्दा लाग्ने आवास, यातायात तथा अन्य खर्च घट्नुका साथै विद्यार्थीलाई आफ्नै समुदायमा रहेर अध्ययन गर्ने अवसरसमेत प्राप्त भएको विद्यालयको भनाइ छ।

करिब दुई दशकभन्दा बढी समयदेखि एउटै विद्यालयको शैक्षिक विकासमा सक्रिय रहँदै आएका प्रधानाध्यापक शिवनाथ प्रसाद थारुको नेतृत्वमा दिपनारायण विद्यालयले समयअनुसार आफ्नो शैक्षिक दायरा विस्तार गर्दै आएको देखिन्छ।

माध्यमिक विद्यालयबाट +२, विज्ञान, प्राविधिक शिक्षा, नमुना विद्यालय, विभिन्न तालिम, एनसिसी, छात्रावास, प्रयोगशाला तथा पुस्तकालय हुँदै स्नातक तहसम्म पुग्नु विद्यालयको विकास यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।

 

अ

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित