वीरगञ्ज, २२ असोज । पर्सागढी नगरपालिका–५ हर्दियां गाउँदेखि वीरगञ्ज महानगरपालिका–२८ इनर्वा र दरदर्वाको बीचमा पर्ने फन्टी नदी किनारसम्मको लामो समयदेखि सञ्चालनमा आउन नसकेको बाटो निर्माण कार्यको शुभारम्भ गरिएको छ।
विकासप्रेमी नगर प्रमुख गोकर्ण पाठकको प्रमुख आतिथ्यतामा तथा वडा नं. ५ का वडा अध्यक्ष नितेश मिश्रको विशेष उपस्थितिमा बाटो निर्माण कार्यको शुभारम्भ गरिएको हो।
कार्यक्रममा पूर्व वडा अध्यक्ष तथा कार्यपालिका सदस्य असलम आलम, जि.एम. सरोज बिढारी, समाजसेवी जयनारायण कुर्मी लगायत गाउँ–समाजका भद्रभलाद्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
हर्दियां फर्मको पूर्वपट्टि पर्ने फन्टी नदीको छेउमा रहेको उक्त बाटो करिब ३० वर्षदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताइएको छ। बाटो निर्माण सम्पन्न भएपछि स्थानीयवासीको आवतजावत सहज हुनुका साथै दैनिक जनजीवनमा समेत प्रत्यक्ष सुविधा पुग्ने अपेक्षा गरिएको छ।









