विहार/७ अक्टोबर २०२६।
बिहारमा आएको बाढीका कारण जनजीवन प्रभावित भइरहेका बेला पीडा, आस्था र आशालाई स्वर दिएको भोजपुरी गीत ‘बाढमा बिहार, छठी मइया खेवनहार’ सार्वजनिक भएको छ। लोकप्रिय अभिनेत्री तथा गायिका अक्षरा सिंहको भावपूर्ण स्वरमा रहेको गीत विपद्को समयमा आशा, विश्वास र प्रार्थनाको सन्देश बोकेर आएको हो।
गीतकार मनोज भावुकले बाढीबाट प्रभावित घरपरिवार, खेत–खलिहान तथा सर्वसाधारणले भोगिरहेको पीडालाई सरल र मार्मिक शब्दमा प्रस्तुत गरेका छन्। गीतमा दुर्गा मइया तथा छठी मइयासँग बिहारको कठिन परिस्थितिबाट उद्धारका लागि प्रार्थना गरिएको छ।
गीतमा संगीतकार मधुकर आनन्दले भावनाअनुकूल करुणा, संवेदना र आशाले भरिएको संगीत दिएका छन्। अक्षरा सिंहले आफ्नो सशक्त तथा भावपूर्ण गायनमार्फत बाढीको पीडा र आस्थाको भावलाई अझ गहिरो बनाएकी छन्।
बाढीका क्रममा अक्षरा सिंह स्वयं बिहार पुगेर प्रभावितहरूको सहयोगमा समेत जुटेकी थिइन्। बाढीपीडितको दुःखलाई नजिकबाट अनुभूति गरेकी उनका लागि यो गीतको भाव अझ आत्मीय बनेको जनाइएको छ।
भोजपुरी साहित्य तथा संस्कृतिका क्षेत्रमा सक्रिय गीतकार मनोज भावुकले यसअघि पनि ‘पलायन के दर्द, सुनs ए छठी मइया’ र ‘जागे यूपी-बिहार’ जस्ता गीतमार्फत सामाजिक सरोकारका विषयलाई आवाज दिँदै आएका छन्। ‘बाढमा बिहार, छठी मइया खेवनहार’ पनि उनको यही सामाजिक तथा मानवीय संवेदनाको निरन्तरता रहेको बताइएको छ।
गीतमा बाढीको विभीषिकाबीच बिहारवासीले भोगिरहेको पीडासँगै कठिन समय अवश्य पार हुने र आशाको डुंगा सुरक्षित किनारमा पुग्ने विश्वाससमेत व्यक्त गरिएको छ।









