वीरगञ्ज । प्रतिनिधिसभाको बैठकमा सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा व्यक्त गर्नुभएको गम्भीर आरोप तथा टिप्पणीप्रति कलेज प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ।
नेशनल मेडिकल कलेजले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कलेज विगत करिब २५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धनमा रही चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ। यस अवधिमा कलेज चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायको नियमित अनुगमन तथा नियमनकारी प्रक्रियाअन्तर्गत सञ्चालन हुँदै आएको कलेज प्रशासनले जनाएको छ।
विज्ञप्तिमा सांसदबाट उठाइएका आरोपका सम्बन्धमा हालसम्म कुनै सम्बन्धित नियामक वा सरकारी निकायबाट आरोप पुष्टि भएको आधिकारिक निष्कर्ष कलेजलाई प्राप्त नभएको स्पष्ट पारिएको छ। यद्यपि कलेज तथ्यमा आधारित, निष्पक्ष तथा पारदर्शी परीक्षणका लागि पूर्ण रूपमा तयार रहेको जनाउँदै सम्बन्धित निकायलाई आवश्यक सम्पूर्ण अभिलेख तथा विवरण उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।
कलेज प्रशासनले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषयहरू प्रमाणित तथ्य, दस्तावेजी आधार तथा अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्ने धारणा व्यक्त गरेको छ।
अपुष्ट आरोपले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा अनावश्यक भ्रम र अविश्वास सिर्जना गर्न सक्ने भन्दै कलेजले यस्ता विषयमा तथ्य र आधिकारिक निष्कर्षलाई आधार बनाउन आग्रह गरेको छ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो करिब २५ वर्षको संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीहरूको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालनाप्रति आफू पूर्ण प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत पुनः स्पष्ट गरेको छ।
प्रेस विज्ञप्तिमा कलेजका प्रशासन प्रमुख विश्वनाथ कन्ठले हस्ताक्षर गरेका छन्।









