गान्धी–शास्त्री जयन्तीमा ११२ बालबालिकालाई शैक्षिक सामग्री वितरण

 

रक्सौल। राष्ट्रपिता महात्मा गान्धीको १५७औँ तथा भारतका दोस्रो प्रधानमन्त्री लालबहादुर शास्त्रीको १२२औँ जयन्तीका अवसरमा भारत विकास परिषद्, रक्सौल शाखाले सेवा, शिक्षा र वातावरण संरक्षणको सन्देश दिएको छ।

परिषद्ले शुक्रबार भारतको बिहार राज्यअन्तर्गत रक्सौल अनुमण्डलको धनगढवा कौडिहार ग्राम पञ्चायतस्थित राजकीय प्राथमिक विद्यालय, धनगढवामा आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा रहेका ११२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो। बालबालिकालाई पुस्तक, कापी, कलम, पेन्सिललगायत सामग्री प्रदान गरिएको थियो। शैक्षिक सामग्री पाएपछि बालबालिकाको अनुहारमा खुसी र उत्साह देखिएको थियो। सोही अवसरमा विद्यालय परिसरमा वृक्षरोपणसमेत गरिएको थियो।

कार्यक्रमको शुभारम्भ दीप प्रज्वलन गरी गरिएको थियो। त्यसपछि महात्मा गान्धी र लालबहादुर शास्त्रीको तस्बिरमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो। कार्यक्रममा सामूहिक रूपमा ‘वन्दे मातरम्’ गानसमेत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै भारत विकास परिषद्, रक्सौल शाखाका अध्यक्ष रजनीश प्रियदर्शीले राष्ट्रका महान् व्यक्तित्वहरूको योगदानलाई स्मरण गर्दै उनीहरूका आदर्श र विचारलाई नयाँ पुस्ताको जीवनमा आत्मसात् गराउन विद्यालयका शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए। सामूहिक प्रयासबाट मात्रै राष्ट्रलाई समृद्धिको दिशामा अघि बढाउन सकिने उनको भनाइ थियो।

उनले शिक्षा सामाजिक समानता र सशक्तीकरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि बालबालिकाको पढाइ प्रभावित हुन नहुने बताए। समाजका सक्षम व्यक्तिहरूले विपन्न तथा आवश्यकतामा रहेका बालबालिकाको शिक्षामा सहयोग गर्न अग्रसर हुनुपर्नेमा उनले जोड दिए।

बालबालिकाको हातमा पुस्तक थमाउनु भनेको शैक्षिक सामग्री उपलब्ध गराउनु मात्र नभई उनीहरूको सपना साकार पार्ने अवसर प्रदान गर्नु पनि भएको उनले बताए। शिक्षाले बालबालिकामा आत्मविश्वास, आत्मनिर्भरता र उज्ज्वल भविष्यको आधार निर्माण गर्ने उनको भनाइ थियो।

यस अवसरमा परिषद्ले विद्यालयकी प्रधानाध्यापिका रोशनी कुमारीलाई दोसल्ला, प्रतीक चिह्न तथा ‘भारतलाई जानौँ’ पुस्तक प्रदान गरी सम्मान गरेको थियो। प्रधानाध्यापिका कुमारीले परिषद्को यस पहलको प्रशंसा गर्दै यस्ता सेवामूलक कार्यक्रमले बालबालिकामा शिक्षाप्रति रुचि बढाउनुका साथै उनीहरूको शैक्षिक भविष्य बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन्।

कार्यक्रमका संयोजक सुनील कुमार र विजय कुमारले बालबालिकालाई नियमित अध्ययन गर्न, असल संस्कार अपनाउन तथा आफ्नो लक्ष्यप्रति समर्पित रहन प्रेरित गरेका थिए। वातावरण संयोजक विजय कुमार साहले शिक्षासँगै वातावरण संरक्षणको महत्त्वबारे प्रकाश पार्दै बढीभन्दा बढी बिरुवा रोप्न र प्रकृतिप्रति संवेदनशील बन्न बालबालिकालाई आग्रह गरे।

त्यसैगरी, परिषद्का सेवा संयोजक तथा सञ्चारमाध्यम प्रमुख बिमल कुमार सर्राफले ‘सम्पर्क, सहयोग, संस्कार, सेवा र समर्पण’ भन्ने मूलमन्त्रका साथ भारत विकास परिषद्ले समाजका आवश्यकतामा रहेका वर्गसम्म पुगेर निरन्तर सेवामूलक कार्य गर्दै आएको बताए।

परिषद्का संगठन सचिव अजय कुमारले बालबालिकाको शिक्षामा सहयोग गर्नु समाजको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गर्दै यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रमका क्रममा बालबालिकालाई डा. भीमराव अम्बेडकरका शिक्षा तथा सामाजिक समानतासम्बन्धी विचारबारे पनि जानकारी गराइएको थियो। शिक्षित बनेर आफ्नो परिवार, समाज र राष्ट्रको विकासमा सकारात्मक योगदान पुर्‍याउन बालबालिकालाई आह्वान गरिएको थियो।

गान्धी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा शिक्षा प्रवर्द्धन, वातावरण संरक्षण र सामाजिक सेवाको सन्देश प्रवाह गरिएको थियो। परिषद्का सदस्यहरूले समाजका कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई शिक्षाको अवसर उपलब्ध गराउन निरन्तर पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

कार्यक्रममा परिषद्का सदस्य सुनील कुमार, अजय कुमार, विजय कुमार साह, बिमल कुमार सर्राफ र सुरेश धानोठियालगायत विद्यालयका शिक्षक–शिक्षिका राजकिशोर पासवान, राजकिशोर राम, नसरीन खातुन, सिम्पल शुक्ला र कञ्चन कुमारीको उपस्थिति रहेको थियो।

कार्यक्रमबारे जानकारी परिषद्का सेवा संयोजक तथा सञ्चारमाध्यम प्रमुख बिमल कुमार सर्राफले दिएका हुन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित