शनिबार र आइतबार बिदा दिन वीरगञ्ज महानगरको निर्देशन

 

वीरगञ्ज, असोज १५ गते। वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई प्रत्येक शनिबार र आइतबार नियमित साप्ताहिक बिदा दिन निर्देशन दिएको छ।

महानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाले २०८३ असोज १३ गते पत्र जारी गर्दै महानगर क्षेत्रभित्रका सबै विद्यालयलाई शनिबार र आइतबार साप्ताहिक बिदा कायम गर्न निर्देशन दिएको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ जेठ ११ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरिएको थियो।

तर वीरगञ्ज महानगरपालिका अन्तर्गतका केही संस्थागत विद्यालयले आइतबारसमेत विद्यालय सञ्चालन गरिरहेको गुनासो प्राप्त भएपछि महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शनिबार र आइतबार नियमित साप्ताहिक बिदा कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ।

महानगरपालिकाले साप्ताहिक बिदा कार्यान्वयन गर्दा पठनपाठन तथा कार्यदिनमा कमी नहुने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रबाट जारी निर्देशनअनुसार दैनिक पठनपाठनको समय, वार्षिक शैक्षिक क्यालेन्डर तथा आवश्यक बिदा समायोजन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ।

त्यसैगरी, स्वीकृत पाठ्यक्रमअनुसार तोकिएको वार्षिक कार्यघण्टा अनिवार्य रूपमा पूरा हुने व्यवस्था मिलाउनसमेत विद्यालयहरूलाई भनिएको छ।

वीरगञ्ज महानगरपालिकाको नगर शिक्षा समितिको २०८३ असोज ५ गतेको निर्णयअनुसार विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न उक्त निर्देशन जारी गरिएको शिक्षा तथा खेलकुद महाशाखाले जनाएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित