वीरगञ्ज, १५ असोज
पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य (सांसद) सुशील साह कानुले वीरगञ्जको नारायणी रंगशाला र टी.बी. शाह क्रिकेट मैदानको जीर्णोद्धार तथा निर्माणका लागि आवश्यक बजेट तत्काल सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद कानुले मुलुकको अर्थतन्त्रमा वीरगञ्जले महत्वपूर्ण योगदान पुर्याउँदै आए पनि खेलकुद पूर्वाधारको विकासमा भने पर्याप्त प्राथमिकता नपाएको बताए।
उनले देशकै दोस्रो ठूलो नारायणी रंगशाला लामो समयदेखि जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै यसको जीर्णोद्धार तथा स्तरोन्नतिका लागि विशेष बजेट प्याकेज आवश्यक रहेको बताए। सरकारले नारायणी रंगशालाको जीर्णोद्धार तथा स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ विनियोजन गरेकोमा धन्यवाद दिँदै उनले उक्त रकम पर्याप्त नभएको धारणा राखे।
आगामी ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत ध्यानमा राख्दै टी.बी. शाह क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेट तत्काल उपलब्ध गराउन उनले सरकारसँग आग्रह गरे।
सांसद कानुले रंगशाला तथा क्रिकेट मैदानका लागि आवश्यक जग्गाको मुआब्जासम्बन्धी समस्या पनि यथाशीघ्र समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। सम्बन्धित जग्गाधनीहरू सरकारले तोकेको मुआब्जा लिएर जग्गा छाड्न तयार रहे पनि मुआब्जा रकम यकिन गर्नुपर्ने फाइल विगत एक वर्षदेखि जिल्ला प्रशासन कार्यालय, पर्सामा रोकिएको उनले बताए।
जग्गा मुआब्जाको प्रक्रिया लामो समयसम्म टुंगोमा नपुग्दा नारायणी रंगशाला तथा टी.बी. शाह क्रिकेट मैदानसँग सम्बन्धित पूर्वाधार विकासका काम प्रभावित भइरहेको भन्दै रास्वपा सांसद कानुले मुआब्जासम्बन्धी प्रक्रिया तत्काल टुंग्याएर निर्माण कार्यलाई गति दिन सरकारसँग आग्रह गरे।
उनले वीरगञ्जको खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नारायणी रंगशाला र टी.बी. शाह क्रिकेट मैदानका लागि विशेष बजेट प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।









