महिला नेतृत्व विकासका लागि सहकर्मी सिकाइ सत्र सम्पन्न

वीरगञ्ज, १४ असोज।

पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘महिला नेतृत्वका लागि अभियान परियोजना’अन्तर्गत सहकर्मी सिकाइ सत्र (पियर लर्निङ सेसन) सम्पन्न भएको छ।

दलित महिला संघ पर्साको आयोजना तथा वुमन फन्ड एसियाको सहयोगमा सञ्चालित कार्यक्रममा बिन्दवासिनी गाउँपालिका क्षेत्रका ३५ जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा महिलाको नेतृत्व क्षमता विकास, अनुभव आदानप्रदान, सामाजिक सहभागिता तथा समुदायमा महिलाको भूमिकालगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रम बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति देवी चौरसियाको प्रमुख आतिथ्य तथा दलित महिला संघ पर्साकी अध्यक्ष नबिया देवी अबैधको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तुलसी भण्डारी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतको विशिष्ट आतिथ्य रहेको थियो। सहभागी महिलाले आफ्ना अनुभव, चुनौती तथा समुदायमा नेतृत्व गर्दा भोग्नुपरेका समस्याबारे विचार आदानप्रदान गरेका थिए।

कार्यक्रमकी संयोजक अञ्जली कुमारी चौहानले सहकर्मी सिकाइमार्फत महिलाबीच अनुभव तथा ज्ञान आदानप्रदान हुनुका साथै नेतृत्व विकासमा सहयोग पुग्ने बताइन्। उनले महिलालाई सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रिय रूपमा सहभागी गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन्।

कार्यक्रममा दलित महिला संघकी कार्यकारी निर्देशक निला रामको समेत विशेष उपस्थिति रहेको थियो। सहभागी महिलाले महिला नेतृत्वलाई प्रभावकारी बनाउन निरन्तर सिकाइ, आपसी सहकार्य र अनुभव आदानप्रदान आवश्यक रहेको बताएका थिए।

आयोजकका अनुसार कार्यक्रमले महिलालाई आफ्ना अनुभव साझा गर्ने, एकअर्काबाट सिक्ने तथा समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान र सीप विकास गर्ने अवसर प्रदान गरेको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित