बाढीपीडित परिवारलाई चौधरीद्वारा ५ हजार रुपैयाँ सहयोग

 

वीरगञ्ज । रसुवाको त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई जगन्नाथपुर गाउँपालिका–५, झखरा धर्मपुर टोलका बृजेश्वर प्रसाद चौधरीले आर्थिक सहयोग गरेका छन्।

बाढीका कारण घरबार तथा व्यवसायमा ठूलो क्षति व्यहोरेका शेष महतो नुनियालाई चौधरीले उहाँकै घरमा पुगेर ५ हजार रुपैयाँ सहयोग गरेका हुन्। विपद्को समयमा थोरै भए पनि पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा सहयोग गरिएको चौधरीले बताएका छन्।

शेष महतो नुनिया परिवार विगत करिब १५ वर्षदेखि रसुवाको त्रिशूली चोकमा डेरा लिएर बस्दै आएको थियो। परिवारले त्यहाँ मोटरसाइकल ग्यारेज सञ्चालन गर्नुका साथै मोटरसाइकलका स्पेयर पार्ट्सको सामानसमेत बिक्री गर्दै आएको थियो। त्यसैगरी, नजिकै किराना पसलसमेत सञ्चालनमा थियो।

तर त्रिशूलीमा आएको बाढीका कारण ती दुवै व्यवसाय तेज पानीको बहावमा बगेपछि परिवारको जीविकोपार्जनको आधार नै गुमेको छ। बाढीको समयमा परिवारका सदस्यहरू जसोतसो सुरक्षित स्थानतर्फ भागेर उच्च स्थानमा पुगेका कारण ज्यान जोगाउन सफल भएका थिए।

नुनिया परिवारमा दुई छोरी र एक छोरा छन्। बाढीपछि व्यवसाय तथा बसोबासको अवस्था बिग्रिएसँगै उनीहरू अहिले बाध्य भएर गाउँमा बस्नुपरेको जनाइएको छ।

बाढीबाट भएको क्षतिपछि सहयोगको अपेक्षासहित नुनियाले जगन्नाथपुर गाउँपालिकाका अध्यक्षसँग समेत भेट गरी राहत तथा सहयोगका लागि आग्रह गरेका छन्। गाउँपालिका अध्यक्षले आवश्यक सहयोग गर्ने आश्वासन दिएको बताइएको छ।

रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उत्थानका लागि जगन्नाथपुर गाउँपालिकाले करिब १५ लाख रुपैयाँ सहयोग गरेको जनाइएको छ। सोही सन्दर्भमा गाउँपालिकाभित्रै रहेका बाढीपीडित परिवारलाई समेत गाउँपालिका र सम्बन्धित वडाबाट आवश्यक राहत तथा सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको स्थानीयको भनाइ छ।

बाढीका कारण आफ्नो व्यवसाय र आयआर्जनको मुख्य आधार गुमाएका नुनियाजस्ता परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना तथा जीविकोपार्जनका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको स्थानीयले बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित