रौतहट, ३० भदौ । रौतहटमा अटो रिक्सा सञ्चालन तथा यात्रु ओसारपसारका क्रममा विभिन्न स्थानीय तहबीच देखिएको विवाद समाधानका लागि अटो रिक्सा चालकहरूले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन्।
सम्पूर्ण पीडित अटो रिक्सा चालक संघर्ष समिति, रौतहटले प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसमक्ष निवेदन बुझाउँदै जिल्लाका विभिन्न क्षेत्रमा अटो सञ्चालन गर्दा चालक तथा यात्रुले समस्या झेल्नुपरेको जनाएको छ।

समितिका अनुसार गौर, गरुडा, चन्द्रपुरलगायतका क्षेत्रमा अर्को स्थानीय तहबाट यात्रु लिएर प्रवेश गर्ने अटो चालकलाई यात्रुको गन्तव्यसम्म पुग्न अवरोध गर्ने, जरिवाना तिराउने तथा नगर प्रहरीमार्फत कारबाही गर्ने जस्ता गतिविधि हुने गरेको गुनासो गरिएको छ।
चालकहरूले अटो सञ्चालनसँग सम्बन्धित नियम तथा अधिकार क्षेत्रबारे स्थानीय तहहरूबीच स्पष्ट समन्वय नहुँदा समस्या उत्पन्न भएको बताएका छन्। उनीहरूले यस विषयलाई एउटै पालिकाको समस्या नभई जिल्ला प्रशासन, यातायात व्यवस्था कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायबीचको सहकार्यबाट समाधान गर्नुपर्ने बताएका छन्।
समितिले जिल्लाका सम्बन्धित सबै निकायलाई सहभागी गराएर तत्काल संयुक्त छलफल तथा बैठक आयोजना गर्न माग गरेको छ। साथै, अटो सञ्चालनसम्बन्धी कानुनी व्यवस्था स्पष्ट पार्दै सबै चालकलाई समान व्यवहार गर्न र कानुनी आधारबिना जरिवाना वा कारबाही नगर्न आग्रह गरिएको छ।
यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउने वातावरण निर्माण गर्नुका साथै चालकहरूको सुरक्षित र निर्वाध आवागमन सुनिश्चित गर्न प्रशासनले आवश्यक पहल गर्नुपर्ने समितिको माग छ।
भविष्यमा स्थानीय तहको सीमाका कारण यात्रु तथा अटो चालकले अनावश्यक समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले स्पष्ट र समन्वयात्मक व्यवस्था बनाउनुपर्नेमा पनि समितिले जोड दिएको छ।
समितिले आफूहरू कानुनी तथा शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न तयार रहेको उल्लेख गर्दै विवादको दीर्घकालीन समाधानका लागि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक पहल र समन्वय गरिदिन अनुरोध गरेको छ।
समितिका तर्फबाट दिपक यादव र विनय श्रीवास श्रीवास्तवको नाम उल्लेख गरी निवेदन पेश गरिएको जनाइएको छ।









