वीरगञ्ज, भदौ ३० गते ।
श्री गणेश चतुर्थी तथा ऋषिपञ्चमी पर्वको अवसरमा वीरगञ्जमा लड्डु वितरण कार्यक्रम आयोजना हुने भएको छ। सनातन हिन्दू मोर्चा, वीरगञ्ज महानगरपालिका समितिको आयोजनामा मंगलबार विभिन्न स्थानमा लड्डु वितरण गरिने भएको हो।
आयोजकका अनुसार पर्वको अवसरमा तथा ‘हनुमान अंश’ चलचित्र प्रदर्शन भइरहेको पावन अवसरमा श्रद्धालु तथा चलचित्रप्रेमीलाई लक्षित गरी लड्डु वितरण गर्न लागिएको हो।
कार्यक्रमअन्तर्गत बिहान १० बजे मेनरोडस्थित महावीर मन्दिरमा सामूहिक पूजापाठसहित लड्डु वितरण गरिनेछ। त्यसैगरी बिहान ११ बजे बाइपास रोडस्थित ए म्याक्स सिनेमा र दिउँसो २ बजे मुरलीस्थित त्रिमूर्ति सिनेमा हलमा पनि लड्डु वितरण गरिने आयोजकले जनाएको छ।
सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगरपालिका समितिले धार्मिक तथा सांस्कृतिक पर्वलाई उत्सवका रूपमा मनाउँदै सनातन संस्कृतिप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।
आयोजकले गणेश चतुर्थी तथा ऋषिपञ्चमीको अवसरमा सम्पूर्ण श्रद्धालुलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। साथै, ‘धर्म, संस्कृति र राष्ट्र हाम्रो पहिचान’ भन्ने सन्देशसहित धार्मिक तथा सांस्कृतिक एकताको भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको जनाएको छ।









