वीरगञ्ज/ जेनजी पर्साको आयोजनामा बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि करिब १० देखि १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ। संकलित राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएर आवश्यकताअनुसार वितरण गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलको नेतृत्वमा संकलन गरिएको राहत सामग्री आजै धादिङतर्फ पठाउने तयारी गरिएको छ। पटेलका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी र धादिङका प्रमुख जिल्ला अधिकारीबीचको समन्वयमा प्रभावित क्षेत्रमा आवश्यक पर्ने सामग्री पहिचान गरी सोहीअनुसार राहत सामग्री पठाउन लागिएको हो।
संकलित राहत सामग्रीमा दाल, चामल, भाँडाकुँडा, लत्ताकपडा, चप्पललगायत दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्री रहेका छन्। बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थानीयस्तरबाट सहयोग जुटाएर सामग्री संकलन गरिएको आयोजकले जनाएको छ।
युवा नेता पटेलले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए। उनले संकलित सामग्री सम्बन्धित निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा पुर्याई वास्तविक आवश्यकताका आधारमा वितरण गरिने जानकारी दिए।
उनका अनुसार राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरिनेछ। प्रभावित परिवारसम्म आवश्यक सामग्री समयमै पुर्याउने गरी राहत अभियानलाई अघि बढाइएको उनले बताए।
जेनजी पर्साले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ। संकलित सामग्री धादिङका प्रभावित क्षेत्रमा पुर्याइएपछि स्थानीय प्रशासन तथा सम्बन्धित पक्षको समन्वयमा वितरण गरिनेछ।









