कटहरियामा तीजको अवसरमा दरखाने तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

 

 

दिपेश कुमार शाह ,रौतहट — हरितालिका तीज पर्वको अवसरमा रौतहटको कटहरिया नगरपालिकामा दरखाने तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कटहरिया नगरपालिका–१ भसेढवास्थित श्री माध्यमिक विद्यालय भसेढवाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगर उपप्रमुख रिता देवी यादवको अध्यक्षता तथा नगर प्रमुख अजय प्रकाश जैसवालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जनप्रतिनिधि, विद्यालय परिवार, महिला तथा स्थानीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी महिलाहरूले दरखाँदै तीजका गीतमा नाचगान गर्दै रमाइलो गरेका थिए। गीत–संगीत तथा नृत्य प्रस्तुत गर्दै सहभागीहरूले आपसमा शुभकामना आदानप्रदान गरी तीज पर्वलाई उल्लासमय वातावरणमा मनाएका थिए।

कार्यक्रमको सञ्चालन राजेश यादवले गर्नुभएको थियो। कार्यक्रममा सहभागी महिलाहरूले तीज पर्वले नेपाली मौलिक संस्कृति, परम्परा, महिला एकता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

श्री माध्यमिक विद्यालय भसेढवाका प्रधानाध्यापक कपिल राय यादवका अनुसार, विद्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमले स्थानीय महिला तथा समुदायलाई एकै ठाउँमा भेला भएर आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन सहयोग पुगेको छ।

हरितालिका तीज नेपाली हिन्दु महिलाहरूको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। तीजको पहिलो दिन दर खाने परम्परा रहिआएको छ। यस अवसरमा महिलाहरूले गीत–संगीत, नाचगान तथा सांस्कृतिक गतिविधिमार्फत खुसी साटासाट गर्दै पर्व मनाउने गर्दछन्।

कार्यक्रमको समापनमा आयोजकहरूले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा आमाहरूमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित