हरिकिशोर शर्मा/जीराभवानी
पर्सा जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
जिराभवानी गाउँपालिका-२ काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारूको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक सम्मुन्नत अधिकारीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार थारू बुधबार बिहान १० बजे घरबाट घाँस काट्न जंगलतर्फ गएका थिए। राति ढिलासम्म पनि घर नफर्किएपछि परिवार र आफन्तले उनको खोजतलास सुरु गरेका थिए। खोज्ने क्रममा बिहीबार बिहान सब-डिभिजन वन कार्यालय बसन्तपुरबाट करिब ५०० मिटर भित्र जंगलमा बाघले मारेको अवस्थामा उनको शव फेला परेको हो।
मृतक थारूको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।








