वीरगंज। पर्साको जगरनाथपुर गाउँपालिका–४ का एक अति विपन्न परिवारलाई श्राद्धकार्यका लागि समाजसेवी ब्रिजेश्वर प्रसाद चौधरीले खाद्यान्न तथा नगद सहयोग गरेका छन्।
चौधरीले आफ्नै तर्फबाट ३ हजार रुपैयाँ नगद, २ बोरा चामल र ३ बोरा चिउरा गरी कुल ५ बोरा खाद्यान्न सामग्री सहयोग गरेका हुन्। आर्थिक अवस्था कमजोर रहेको परिवारलाई श्राद्धकार्यका लागि आवश्यक खाद्यान्न सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको चौधरीले बताए।
सहयोग हस्तान्तरण गर्दै चौधरीले विपन्न तथा एकल महिलाहरूलाई आवश्यकता परेको समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको बताए। उनले आगामी दिनमा पनि समस्यामा परेका तथा आर्थिक रूपमा कमजोर परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
चौधरी लामो समयदेखि सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएका छन्। उनले यसअघि पनि विपन्न, असहाय तथा समस्यामा परेका परिवारलाई खाद्यान्न, नगदलगायत विभिन्न किसिमका सहयोग गर्दै आएका छन्।
उनको निरन्तर सामाजिक सक्रियतालाई स्थानीयवासीले सकारात्मक रूपमा लिँदै आएका छन्। युवा, महिला तथा स्थानीय समुदायका विभिन्न व्यक्तिहरूले समेत चौधरीको सामाजिक योगदानको प्रशंसा गर्दै आएका छन्।
सहयोग हस्तान्तरणका क्रममा चौधरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मृतकले स्वर्गमा स्थान प्राप्त गरून् भनी प्रार्थना गरेका थिए।







