वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीको आयोजनामा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा, दीप प्रज्वलन तथा शान्ति पाठ कार्यक्रम सम्पन्न भएको छ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५एसअन्तर्गतको क्लबले बिहीबार बिहान वीरगञ्जस्थित गहवामाई मन्दिर परिसरमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बिहान ७ बजे दीप प्रज्वलन गरी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि पण्डित जितेन्द्रकुमार झाले शान्ति पाठ गराउनुभएको थियो।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डे, डिस्ट्रिक्ट चिफ तथा चार्टर्ड प्रेसिडेन्ट लायन अशोक बेरीवाल, जोन चेयरपर्सन तथा इमिडिएट पास्ट प्रेसिडेन्ट लायन उमेशकुमार गुप्ता, सचिव लायन नेल्सन भण्डारी, सहसचिव लायन प्रसिद्धि आनन्द सिंह, सदस्य लायन श्रुति गुप्ता र लायन कोमल गुप्तालगायतको सहभागिता थियो। गहवामाई मन्दिर सञ्चालक समितिका गणेश ठाकुर, भोला कहार र सञ्जयकुमारको पनि उपस्थिति थियो।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले विनाशकारी बाढीबाट उत्पन्न विपत्तिको घडीमा सबैलाई एकजुट भएर पीडितको उद्धार, राहत तथा सहयोगमा जुट्न आह्वान गर्नुभयो। उहाँले लायन्स क्लबले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने बताउनुभयो।
क्लब अध्यक्ष लायन पिया सिंह र डिस्ट्रिक्ट चिफ तथा चार्टर्ड प्रेसिडेन्ट लायन अशोक बेरीवालले भोटेकोशी तथा त्रिशूली नदीको विनाशकारी बाढीमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। उहाँहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्नुभयो।
क्लबले प्राकृतिक विपद्का प्रभाव न्यूनीकरण गर्न तथा वातावरणीय सन्तुलन कायम राख्न सबैलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ। ‘सर्भिस विथ प्राइड’ अर्थात् गौरवका साथ सेवाको भावनालाई आत्मसात् गर्दै सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धतासमेत क्लबले व्यक्त गरेको छ।
यसैबीच, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२२ई, जोन ४१ रक्सौलका जोन चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सन एवं भारत विकास परिषद् रक्सौलका सेवा संयोजक तथा मिडिया प्रभारी बिमल सर्राफले रक्सौलबाट पठाउनुभएको सन्देशमार्फत भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।
सर्राफले भीषण प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिका लागि ईश्वरसँग प्रार्थना गर्नुभएको छ। उहाँले शोकसन्तप्त परिवारलाई दुःख सहन सक्ने शक्ति प्रदान होस् भन्ने कामना गर्दै विपद्को समयमा पीडित मानवतासँग उभिनु नै सच्चा सेवा र मानवीय संवेदना भएको बताउनुभएको छ।
यसअघि लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीले अध्यक्ष लायन पिया सिंहको नेतृत्वमा मंगलबार वीरगञ्ज–४ स्थित त्रिजुद्ध माध्यमिक विद्यालयको छात्रावासमा अध्ययनरत दृष्टिविहीन तथा नेत्रसम्बन्धी अपाङ्गता भएका विद्यार्थीका लागि व्यक्तिगत सरसफाइसम्बन्धी सचेतना तथा कपाल काट्ने कार्यक्रमसमेत आयोजना गरेको थियो।









