काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग समितिको बैठकमा ग्यास उद्योगीहरूलाई लक्षित गर्दै मन्त्री यादवले दिएको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति विवादमा परेको थियो। उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए।
ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका विषयमा संसदीय समितिको बैठकमा भएको छलफलका क्रममा मन्त्री यादवले उद्योगीहरूप्रति उक्त अभिव्यक्ति दिएकी थिइन्। अभिव्यक्ति सार्वजनिक भएपछि निजी क्षेत्रबाट उनको आलोचना भएको थियो।
ग्यास उद्योगीहरूले मन्त्री यादवको अभिव्यक्तिबारे प्रधानमन्त्री शाहसमक्ष समेत गुनासो राखेका थिए। विवाद बढ्दै गएपछि मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्।
मन्त्री यादवको राजीनामासँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वबारे सरकारले आगामी निर्णय गर्नेछ।








