शैलेश गुप्ता /पोखरिया,
पर्सा । प्रादेशिक अस्पताल पोखरियामा आवश्यक स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बिरामी तथा सेवाग्राही समस्यामा परेको गुनासो बढेको छ। अस्पतालमा एक्सरे सेवा नियमित नहुनु तथा ल्याब परीक्षणका लागि आवश्यक सामग्रीको अभाव हुँदा बिरामीहरू महँगो शुल्क
तिरेर निजी अस्पताल तथा क्लिनिकमा जान बाध्य भएको स्रोतले जनाएको छ। अस्पतालमा रहेको एक्सरे मेसिन पटक–पटक बिग्रिने गरेको र लामो समयसम्म मर्मत नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका छन्। त्यस्तै, ल्याबमा आवश्यक केमिकल तथा अन्य सामग्रीको अभाव हुँदा कतिपय परीक्षण प्रभावित हुने गरेको बताइएको छ।
सेवा प्रवाहमा देखिएको समस्याबारे स्थानीयस्तरमा अस्पताल प्रशासन र सम्बन्धित कर्मचारीको कार्यसम्पादनमाथि समेत प्रश्न उठ्न थालेको छ। एक्सरे सेवा सञ्चालनका लागि आवश्यक रेडियोलोजिस्ट उपलब्ध नहुनु, तर अन्य क्षेत्रमा कर्मचारीको संख्या बढ्दै जानु असन्तुलित व्यवस्थापनको उदाहरण भएको स्रोतको दाबी छ।
दरबन्दीभन्दा बढी कर्मचारी ?
स्रोतका अनुसार पोखरिया अस्पतालमा सरकारी दरबन्दी सीमित रहे पनि मधेश प्रदेश सरकार तथा सम्बन्धित मन्त्रालयबाट दैनिक ज्यालादारी र करार सेवामा थप कर्मचारी पठाउने क्रम बढेको छ। अस्पतालमा स्वीकृत दरबन्दीअनुसार आवश्यक जनशक्ति व्यवस्थापन गर्नुको सट्टा विभिन्न माध्यमबाट कर्मचारी थपिँदा आर्थिक भार बढेको स्रोतको दाबी छ।
अर्कोतर्फ, बिरामीका लागि अत्यावश्यक एक्सरे तथा ल्याब सेवा नियमित सञ्चालन गर्न आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापन हुन नसकेको भन्दै अस्पताल व्यवस्थापनमाथि प्रश्न उठेको छ।
नियुक्तिमा आर्थिक चलखेलको आरोप
स्रोतले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायमा दैनिक ज्यालादारी र करार सेवामा कर्मचारी नियुक्त गर्दा एक लाखदेखि दुई लाख रुपैयाँसम्म रकम लिएको आरोप समेत लगाएको छ।
त्यस्तै, अस्पताल प्रशासनसँगको मिलेमतोमा केही कर्मचारीलाई हाजिर गराई अन्यत्र कामकाजमा खटाउने गरिएको दाबीसमेत स्रोतले गरेको छ। यस्ता विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको स्थानीयको भनाइ छ।
सरकारी अस्पतालमा निजी क्षेत्रभन्दा महँगो सेवा ?
सरकारी अस्पतालमा सर्वसाधारणले सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरे पनि आवश्यक सेवा उपलब्ध नहुँदा बिरामी निजी अस्पताल तथा क्लिनिकमा महँगो शुल्क तिर्न बाध्य भएको गुनासो छ।
अस्पताल परिसरमा बिरामीले सहज सेवा नपाउने तर प्रदेश सरकारबाट खटाइएका कर्मचारीको संख्या भने बढ्दै गएको भन्दै स्थानीयले प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
स्थानीयको प्रश्न छ—अस्पतालमा कर्मचारी थपिँदै जाने तर बिरामीलाई आवश्यक एक्सरे, ल्याब परीक्षणजस्ता आधारभूत सेवा नियमित रूपमा उपलब्ध नहुने अवस्था किन ?
यस विषयमा अस्पताल प्रशासन, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायले सेवा अभावको वास्तविक कारण सार्वजनिक गर्दै एक्सरे मेसिनको नियमित मर्मत, आवश्यक प्राविधिक जनशक्ति र ल्याब सामग्रीको तत्काल व्यवस्था गर्नुपर्ने माग उठेको छ।









