वीरगञ्ज । कवेष्ट फर्मास्युटिकल्स प्रा.लि.ले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव तथा श्री विश्वकर्मा पूजा २०८३ को अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।
कम्पनीको छातापिपरास्थित कारखाना परिसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र वीरगञ्जको प्राविधिक सहयोग रहेको थियो।
कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा कुल १०७ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।
कम्पनीको २५औँ वर्ष प्रवेश तथा विश्वकर्मा पूजाको अवसरलाई सामाजिक सेवामार्फत थप अर्थपूर्ण बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कवेष्ट फर्मास्युटिकल्सका प्रतिनिधिहरूले बताए।
संकलित रगतले स्थानीय स्तरमा रगतको आवश्यकता भएका बिरामीको उपचार तथा जीवन रक्षामा सहयोग पुग्ने विश्वास रक्त सञ्चार केन्द्र वीरगञ्जले व्यक्त गरेको छ। साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेकोमा केन्द्रले कवेष्ट फर्मास्युटिकल्सप्रति आभार व्यक्त गरेको छ।









