वीरगञ्ज | २२ भदौ २०८३
रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र नेपाल मेडिकल कलेज प्रा.लि., गोकर्णेश्वर, काठमाडौं ले संयुक्त रूपमा रु. ७५ लाख सहयोग प्रदान गरेका छन्।
नेपाल मेडिकल कलेज परिवार र नेशनल मेडिकल कलेज परिवारको संयुक्त योगदानस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (बाढी राहत) मा रु. ७५,००,००० (पचहत्तर लाख रुपैयाँ) जम्मा गरिएको हो।
रसुवामा बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई राहत, उद्धार र आवश्यक मानवीय सहायता उपलब्ध गराउन सघाउने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरिएको संस्थाहरूले जनाएका छन्।
स्वास्थ्य सेवामा निरन्तर समर्पित दुवै संस्थाले विपद्को कठिन घडीमा आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै रसुवाका प्रभावित नागरिकहरूको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूको संयुक्त योगदानले राहत वितरण, उद्धार कार्य तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मानवीय सेवाको भावनाबाट प्रेरित यस सहयोगले विपद्को समयमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा समुदायबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
नेशनल मेडिकल कलेज, वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनहरूमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्को असरबाट प्रभावित नागरिकहरूको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवामूलक कार्यमा आफ्नो सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।









