काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्कीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
संरचनागत विश्लेषणको काम स्वीकृत गरिदिने विषयमा सेवाग्राहीसँग रकम माग गरिएको सूचनाका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले कार्कीसहित आस्मा कार्कीलाई पक्राउ गरेको हो।
आयोगका अनुसार इन्जिनियर दिपा कार्कीले उक्त काम स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग रकमका लागि बार्गेनिङ गर्दै पटक-पटक दुःख हैरानी दिएको भन्ने उजुरी परेको थियो । सोही आधारमा गरिएको अनुसन्धानका क्रममा दुवै जनालाई ६४ हजार रुपैयाँ घुस रकमसहित कागेश्वरी मनोहरा नगरपालिका कार्यालय, थली-डाँछीबाट भदौ १५ गते नियन्त्रणमा लिइएको हो ।
आयोगले रकम लिएर मध्यस्थको भूमिका निर्वाह गर्ने आस्मा कार्कीलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि घुस-रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । विशेष अदालतको आदेशअनुसार भदौ १६ गते म्याद थप भएसँगै अनुसन्धान प्रक्रिया जारी रहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
सभार:- प्रशासन डटकम









