रक्सौल । भारत विकास परिषद्, शाखा–रक्सौलको आयोजनामा सञ्चालन गरिएको ‘भारतलाई जानौँ’ अखिल भारतीय लिखित परीक्षा–२०२६ मा रक्सौलका विभिन्न विद्यालयका करिब ४ सय विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका छन्।
रक्सौलका क्याम्ब्रिज पब्लिक स्कुल, सेन्ट माइकल इङ्लिस स्कुल, एस.ए.भी. स्कुल, चन्द्रशील इङ्लिस स्कुल, सरस्वती विद्या मन्दिर, जयन्त एकेडेमी, एम.जी.एम. इन्टरनेसनल स्कुल, डी.पी.एम. स्कुल र भारती पब्लिक स्कुलका विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाएका हुन्।
३० मिनेटको अवधिमा सम्पन्न परीक्षामा भारतको इतिहास, संस्कृति, परम्परा, ज्ञान–विज्ञान, महापुरुष तथा राष्ट्रिय गौरवसँग सम्बन्धित ५० वटा वस्तुगत प्रश्न सोधिएको थियो। सहभागी विद्यालयहरूमा परिषद्का सदस्य, परीक्षक तथा पर्यवेक्षकहरूको उपस्थितिमा परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाइएको छ।
भारत विकास परिषद्का सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं सञ्चार प्रभारी बिमलकुमार सर्राफले सहभागी सबै विद्यालयका व्यवस्थापन तथा शिक्षकहरूको सहयोग सराहनीय रहेको बताए। उनीहरूले विद्यार्थीहरूले समेत अनुशासन र उत्साहका साथ परीक्षामा सहभागिता जनाएको जानकारी दिए।
परिषद्का अध्यक्ष रजनीश प्रियदर्शीले ‘भारतलाई जानौँ’ केवल प्रतियोगिता नभई विद्यार्थीहरूलाई भारतको गौरवशाली इतिहास, संस्कृति तथा ज्ञान परम्परासँग जोड्ने महत्वपूर्ण अभियान भएको बताए। विद्यार्थीमा देशप्रतिको जिज्ञासा, गौरव र राष्ट्रिय चेतना विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।
त्यस्तै, संस्कार संयोजक नितेशकुमार सिंहले विद्यार्थीहरूको उत्साहजनक सहभागिताले नयाँ पुस्ता आफ्नो देशको इतिहास र संस्कृतिबारे जान्न इच्छुक रहेको देखाएको बताए। यस्ता प्रतियोगिताले विद्यार्थीको ज्ञानवृद्धिसँगै संस्कार, आत्मविश्वास र राष्ट्रबोधलाई समेत मजबुत बनाउने उनले उल्लेख गरे।
परीक्षाको नतिजाका आधारमा प्रत्येक सहभागी विद्यालयको कनिष्ठ र वरिष्ठ वर्गमा प्रथम तथा द्वितीय स्थान हासिल गर्ने विद्यार्थी शाखास्तरीय प्रश्नमञ्च अर्थात् क्विज प्रतियोगितामा सहभागी हुन योग्य हुनेछन्। यसबाट विद्यार्थीहरूले आफ्नो ज्ञान तथा प्रतिभा प्रस्तुत गर्ने थप अवसर प्राप्त गर्ने जनाइएको छ।
परीक्षा सफलतापूर्वक सम्पन्न गराउन भारत विकास परिषद्, रक्सौल शाखाका सुनीलकुमार, उमेश सिकारिया, बिमलकुमार सर्राफ, सीताराम गोयल, मनोजकुमार, आलोककुमार श्रीवास्तव, रमेशकुमार, अजयकुमार, किरण जायसवाल, सुरेश धानोठिया, संगीता धानोठिया, दिनेशप्रसाद, अरविन्द जायसवाल, विनोदकुमार, सन्तोषकुमार, बिनोद रौनियार, अशोककुमार, विवेककुमार चौरसिया र शरद सर्राफलगायतले उल्लेखनीय योगदान दिएका थिए।
कार्यक्रमसम्बन्धी जानकारी परिषद्का सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं सञ्चार प्रभारी बिमलकुमार सर्राफले दिएका हुन्।









