युवा जनशक्तिको सम्मानजनक समायोजन र कार्यकारी जिम्मेवारीको युवा संघ नेपाल द्वारा माग 

 

वीरगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सामा जनवर्गीय संगठनमा लामो समयदेखि सक्रिय युवा जनशक्तिलाई योगदान, क्षमता र अनुभवका आधारमा पार्टीको मूलधारमा सम्मानजनक समायोजन गर्न माग गरिएको छ।

युवा संघ नेपालका केन्द्रीय उपमहासचिव तथा मधेश प्रदेश इन्चार्ज अनिल पटेल र नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष आकाश पटेलको संयुक्त नेतृत्वमा पार्टी जिल्ला संयोजकसमक्ष ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्रमा युवा, विद्यार्थी, खेलाडी, मजदुर, किसानलगायत विभिन्न जनवर्गीय संगठनमा लामो समयदेखि सक्रिय रही पार्टी तथा संगठन निर्माणमा योगदान पुर्‍याएका युवाको राजनीतिक अनुभव, संगठन निर्माण क्षमता, जनसम्पर्क, कार्यसम्पादन, नेतृत्व क्षमता तथा पार्टीप्रतिको प्रतिबद्धतालाई आधार बनाएर उपयुक्त जिम्मेवारी दिन माग गरिएको छ।

जनवर्गीय संगठनको पुनर्गठन तथा समायोजनका क्रममा सक्रिय र योगदान गरेका युवाहरूको राजनीतिक भविष्य अन्योलमा नपार्न स्पष्ट तथा न्यायोचित व्यवस्थापन नीति आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ।

त्यस्तै पार्टीका वडा, पालिका, जिल्ला तथा माथिल्लो तहका समितिहरूमा योग्य युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न तथा संगठन, प्रचार–प्रसार, जनसम्पर्क, सूचना–प्रविधि, युवा तथा विद्यार्थी समन्वय, खेलकुद र सामाजिक अभियानजस्ता क्षेत्रमा युवालाई कार्यकारी जिम्मेवारी दिन माग गरिएको छ।

पद तथा जिम्मेवारी वितरण गर्दा नातावाद वा गुटगत पहुँचभन्दा योगदान, क्षमता, संगठनप्रतिको सक्रियता र भविष्यमा नेतृत्व गर्न सक्ने क्षमतालाई प्राथमिकता दिनुपर्नेमा पनि ज्ञापनपत्रमार्फत जोड दिइएको छ।

युवालाई केवल सदस्य वा सल्लाहकारको भूमिकामा सीमित नराखी संगठन निर्माण र निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी गराउँदै भविष्यको नेतृत्वका रूपमा विकास गर्नुपर्ने माग गरिएको छ। पार्टीले युवाको नेतृत्व विकासका लागि राजनीतिक प्रशिक्षण, संगठन सञ्चालन, जनसम्पर्क, सञ्चार तथा सूचना प्रविधि र सार्वजनिक वक्तृत्वलगायत विषयमा प्रशिक्षण सञ्चालन गर्नुपर्ने सुझावसमेत दिइएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा नेपाली कम्युनिष्ट पार्टी पर्साका जिल्ला संयोजक जयप्रकाश थारू, जिल्ला इन्चार्ज पी.एल. श्रेष्ठ, पार्टीका सहइन्चार्ज मनोज चौधरी, जिल्ला सहसंयोजक फिरोज बादशाहलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

ज्ञापनपत्रमा नेपाल खेलकुद महासंघ समाजवादी केन्द्रिय उपाध्यक्ष र नेकपा मधेस प्रदेश सदस्य आकाश पटेल, युवा संघ नेपालका केन्द्रीय उप महासचिव तथा मधेश प्रदेश इंचार्ज अनिल पटेल, युवा संघ नेपालका केन्द्रीय राज श्रीवास्तव, सन्दीप पटेल, दीपक साह, उपेन्द्र पटेल, जिल्ला सदस्य प्रदीप कुशवाहा, राम पटेल, प्रताप पटेल, युवा संघ नेपालका पुर्व महानगर संयोजक र प्रदेश तथा समितिका सदस्य उमेश ठाकुर, मदन प्रसाद कुर्मी र विश्वेश्वर पटेललगायतको सहभागिता रहेको जनाइएको छ।

ज्ञापनपत्रमार्फत युवाले “युवालाई पद मात्र होइन—जिम्मेवारी, अधिकार, अवसर र नेतृत्व विकासको सुनिश्चितता चाहिन्छ” भन्ने मुख्य माग अघि सारेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित