हरिकिशोर शर्मा / भदौ / ५ जिराभवानी पर्सा
वीरगन्जसहित पर्सा जिल्लाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका (तस्करीका ) ८ लाख रुपैयाँ बढीका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट प्रसौनीभाठा,ब्रम्हनगर, सुरक्षा बेस क्याम्प पोखरिया रसीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले सीमा क्षेत्रमा चेकजाँच तथा गस्ती गर्ने क्रममा भन्सार छली गरी ओसारपसार हुँदै गरेका प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला, मदिरा, कपडा, किराना सामान तथा मोटरसाइकल गरी ८ लाख ५ हजार ९०० रुपैयाँ मूल्य बराबरका सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको हो।

विन्दवासिनी गाउँपालिका–४ कुकैयास्थित सीमा क्षेत्रबाट ३ लाख मूल्यको ३० कार्टुनमा रहेका ३ हजार प्रतिबन्धित भारतीय ब्रोइलर कुखुराका चल्लासहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद चल्ला नष्ट गरि पक्राउ गरिएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, बोर्डर आउट पोष्ट ब्रह्मनगरबाट खटिएको टोलीले सीमा क्षेत्रबाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १ लाख ५४ हजार ९०० रुपैयाँ बराबरको मदिरा तथा मोटरसाइकलसहित १ जना व्यक्ति नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, सीमा सुरक्षा गुल्म हेडक्वाटर अलौबाट खटिएको गस्ती टोलीले ३ लाख ५१ हजार रुपैयाँ बराबरको कपडा, मोटरसाइकल तथा विभिन्न किराना सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ।








