दिपेश कुमार साह
रौतहट — कटहरिया नगरपालिका–४ मा पर्यावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले एकैपटक १० हजारभन्दा बढी विभिन्न जातका बिरुवा वितरण गरिएको छ। वडा अध्यक्ष चन्दन कुमार कुशवाहाको सक्रियतामा डिभिजन वन कार्यालय चोचाबाट उपलब्ध गराइएका बिरुवा स्थानीयवासीलाई वितरण गरिएको हो।
वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा जामुन, मसला, अमला, तेजपात, सोहजन अर्थात् मोरिङ्गालगायत विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय चोचाका प्रमुख अनिल महतोले जानकारी दिए।
मधेश प्रदेशमा बढ्दो गर्मी, वातावरणीय प्रदूषण, धुलो तथा वन विनाशका कारण हरियाली र वातावरण संरक्षणको आवश्यकता झन् बढ्दै गएको अवस्थामा वडा तहबाट ठूलो संख्यामा बिरुवा वितरण गरिएको हो। स्थानीयवासीले बिरुवा प्राप्त गरेपछि घर, खेतबारी, सडक किनार तथा सार्वजनिक स्थानमा रोपेर संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन्।
बिरुवा वितरण कार्यक्रमलाई केवल औपचारिकतामा सीमित नगरी रोपिएका बिरुवा हुर्काउने र संरक्षण गर्ने विषयलाई समेत प्राथमिकतामा राख्नुपर्ने स्थानीयको भनाइ छ। बिरुवा वितरणको संख्या महत्वपूर्ण भए पनि अभियानको वास्तविक सफलता रोपिएका बिरुवा कति बाँचे, कहाँ–कहाँ रोपिए र तिनको नियमित संरक्षण तथा अनुगमन कति प्रभावकारी भयो भन्ने कुराले निर्धारण गर्ने उनीहरूको भनाइ छ।
यसैबीच, इलाका प्रहरी कार्यालय कटहरियाको परिसरमा समेत विभिन्न जातका बिरुवा रोपिएको छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक जयप्रकाश साहको सक्रियतामा कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो। वडा अध्यक्ष कुशवाहाको उपस्थितिमा वृक्षारोपण गरिएको वरिष्ठ सई साहले जानकारी दिए।
वडा सदस्य रामेश्वर यादवले पछिल्लो समय मधेशमा अत्यधिक गर्मी, धुलो तथा प्रदूषणको समस्या बढ्दै गएकाले वृक्षारोपण वातावरण संरक्षणका लागि महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार हरियाली विस्तार गर्नु भनेको वर्तमान पुस्तासँगै भावी पुस्ताका लागि पनि स्वच्छ, स्वस्थ र सुरक्षित वातावरण निर्माण गर्नु हो।
कटहरिया–४ मा एकैपटक १० हजारभन्दा बढी बिरुवा वितरण हुनु वातावरण संरक्षणका दृष्टिले सकारात्मक पहलका रूपमा लिइएको छ। यद्यपि, बिरुवा वितरणसँगै त्यसको दीर्घकालीन संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता छ।
विशेषगरी मधेशमा गर्मीको प्रभाव बढिरहेको अवस्थामा बिरुवा रोप्ने अभियानसँगै नियमित सिँचाइ, पानीको व्यवस्था, आवश्यक स्थानमा ट्री–गार्डको प्रयोग, नियमित अनुगमन तथा स्थानीय समुदायको सक्रिय सहभागितालाई जोड्न सके अभियान अझ प्रभावकारी र परिणाममुखी बन्न सक्ने स्थानीयको विश्वास छ। बिरुवा रोपेर मात्र होइन, त्यसलाई हुर्काएर संरक्षण गर्न सके मात्रै हरियाली प्रवर्द्धन र वातावरण संरक्षणको उद्देश्य दीर्घकालीन रूपमा पूरा हुने देखिन्छ।









