८०औँ स्वतन्त्रता दिवसमा इन्स्पेक्टर मनोजकुमार शर्मालाई डीजी डिस्कद्वारा सम्मान

भारत/  मानव बेचबिखनजस्तो गम्भीर अपराधविरुद्ध प्रभावकारी कारबाही गर्दै थुप्रै नाबालिग तथा अन्य पीडितको उद्धारमा उल्लेखनीय योगदान पुर्‍याएका इन्स्पेक्टर मनोजकुमार शर्मा महानिर्देशक पदक (डीजी डिस्क) तथा प्रशंसापत्रबाट सम्मानित भएका छन्।
उत्कृष्ट सेवा, प्रभावकारी निर्देशन, कार्यकुशलता तथा मानवीय संवेदनशीलताका लागि उनलाई उक्त सम्मान प्रदान गरिएको हो। महानिर्देशक स्तरबाट प्रदान गरिने यो सम्मान प्रहरी सेवामा विशेष महत्त्व राख्ने सम्मानका रूपमा लिइन्छ।
मानव बेचबिखनविरुद्धको अभियानमा इन्स्पेक्टर शर्माले मानव बेचबिखनविरोधी इकाइ (एएचटीयू) मार्फत प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन्। विशेषगरी नेपालबाट भारततर्फ बेचबिखनको जोखिममा रहेका नाबालिग तथा बालिगको उद्धारमा उनको भूमिका उल्लेखनीय रहेको बताइएको छ। उनको निर्देशन तथा नेतृत्वमा भएका विभिन्न कारबाहीबाट तस्करको चंगुलमा परेका थुप्रै पीडितको उद्धार गरी उनीहरूलाई सुरक्षित जीवनतर्फ फर्काउन सहयोग पुगेको छ।


मानव बेचबिखनविरुद्धको कारबाहीमा अपराधी पक्राउ गर्नेमात्र नभई पीडितको सुरक्षा, सम्मान र पुनःस्थापनालाई समेत प्राथमिकता दिनुपर्ने मान्यताका साथ शर्माले काम गर्दै आएका छन्। उनका प्रयासले मानव बेचबिखनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन तथा सर्वसाधारणमा सुरक्षा निकायप्रतिको विश्वास बढाउन योगदान पुगेको बताइएको छ।
सम्मान समारोहमा उपमहानिरीक्षक श्री राकेशकुमारले इन्स्पेक्टर मनोजकुमार शर्मालाई महानिर्देशक पदक तथा प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए। कार्यक्रममा उपस्थित अधिकारी तथा सहकर्मीहरूले उनलाई बधाई दिँदै मानव बेचबिखन नियन्त्रण तथा पीडितको उद्धारमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।
सम्मानपछि इन्स्पेक्टर शर्माले प्राप्त पदकलाई व्यक्तिगत उपलब्धिभन्दा पनि आफ्नो टोलीको सामूहिक प्रयासको सम्मानका रूपमा लिएको बताए। उनले पीडितको जीवन सुरक्षित गर्नु, उनीहरूलाई न्याय र सम्मान दिलाउनु नै प्रहरी सेवाको सबैभन्दा ठूलो सफलता भएको उल्लेख गरे।
इन्स्पेक्टर मनोजकुमार शर्मालाई डीजी डिस्कबाट सम्मानित गरिएकोमा सहकर्मी, नागरिक तथा नेपालका शुभचिन्तकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित