वीरगंज, ३० साउन। भारतको महावाणिज्य दूतावास, वीरगंजले भारतको ८०औँ स्वतन्त्रता दिवस विविध कार्यक्रमसहित उत्साह र देशभक्तिपूर्ण भावनाका साथ मनाएको छ।
महावाणिज्य दूतावास परिसरमा आयोजित समारोहमा भारतीय समुदायका सदस्य, भारतका मित्र तथा वीरगंज क्षेत्रका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात ‘वन्दे मातरम्’को प्रस्तुतिबाट भएको थियो। त्यसपछि महावाणिज्यदूत श्री देवी सहाय मीनाले भारतको राष्ट्रिय झण्डा फहराउनुभएको थियो। झण्डोत्तोलनपछि उपस्थित सबैले सामूहिक रूपमा राष्ट्रिय गान गाएका थिए। त्यसलगत्तै महावाणिज्यदूत मीनाले भारतका राष्ट्रपति महोदयको स्वतन्त्रता दिवसका अवसरमा जारी सम्बोधन वाचन गर्नुभएको थियो।
समारोहको मुख्य आकर्षण वीरगंजका विभिन्न विद्यालयका विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकाले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम बने। देशभक्तिपूर्ण गीत, नृत्य तथा नाटक प्रस्तुत गरिएका कार्यक्रममा भारतको सांस्कृतिक विविधता र राष्ट्रिय एकताको भावना झल्किएको थियो। सहभागीहरूको प्रस्तुतिलाई उपस्थित दर्शकले उत्साहपूर्वक स्वागत गर्दै प्रशंसा गरेका थिए।
कार्यक्रममा पर्सा र बारा जिल्लाका वरिष्ठ प्रशासनिक तथा प्रहरी अधिकारीका साथै वीरगंज उद्योग वाणिज्य संघ (BiCCI), NIFA, NYEF, NiCCI, पतञ्जलीलगायत विभिन्न संघसंस्था तथा क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो। उनीहरूको उपस्थितिले नेपाल–भारतबीचको जनस्तरको गहिरो सम्बन्ध र आपसी सहकार्यलाई थप उजागर गरेको थियो।
सो अवसरमा महावाणिज्यदूत श्री देवी सहाय मीनाले उत्कृष्ट सांस्कृतिक प्रस्तुति दिने विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकालाई प्रमाणपत्र प्रदान गर्दै प्रशंसा गर्नुभयो। साथै, भारत सरकारको विदेश मन्त्रालयद्वारा आयोजित ‘भारतलाई जानौँ’ प्रश्नोत्तरी प्रतियोगिताका विजेतालाई पनि पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी, भारतको महावाणिज्य दूतावास, वीरगंजले विभिन्न विद्यालयसँगको सहकार्यमा आयोजना गरेको चित्रकला प्रतियोगिताका विजेतालाई प्रशंसापत्र प्रदान गरिएको थियो।
विविध सांस्कृतिक प्रस्तुति, सम्मान तथा पुरस्कार वितरणसहित सम्पन्न समारोहले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, सांस्कृतिक निकटता र जनस्तरको सहकार्यलाई थप सुदृढ बनाएको सन्देश दिएको थियो।









