हरिकिशोर शर्मा । साउन / २२ जिराभवानी पर्सा ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जिल्लाका ग्रामीण क्षेत्रमा रहेका विभिन्न प्रहरी युनिटहरूको स्थलगत अनुगमन गर्दै शान्ति सुरक्षा, जनसम्पर्क र प्रहरी सेवाको प्रभावकारिताबारे निर्देशन दिएका छन्।
एसपी भट्टराईले इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरी चौकी रगपुरलगायत विभिन्न प्रहरी बिटहरूको निरीक्षण तथा अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा उनले प्रहरी र आम नागरिकबीच बढ्दै गएको दूरी कम गर्न, सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार अपनाउन तथा ग्रामीण क्षेत्रमा भइरहेका आपराधिक गतिविधि, सामाजिक विवाद र साम्प्रदायिक सद्भाव कायम राख्न प्रहरीलाई सक्रिय र जिम्मेवार बन्न निर्देशन दिए।
पर्सा जिल्लामा सरुवा भई आएको केही समयमै जिल्लाको भौगोलिक अवस्था तथा सुरक्षा चुनौतीबारे जानकारी लिने क्रममा रहेका एसपी भट्टराईले कुनै पनि अप्रिय घटना हुन नदिन सबै युनिट प्रमुखलाई सतर्क र सक्रिय रहन निर्देशन दिएका छन्।
उनले प्रहरी संगठनले सदैव इमान्दारितापूर्वक काम गर्ने उल्लेख गर्दै कुनै पनि घटनामा निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा जोड दिए। “घटनाको सत्यतथ्य बुझेर निर्दोष नफस्ने र दोषी उम्किन नपाउने वातावरण बनाउनुपर्छ,” भन्दै उनले कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्न निर्देशन दिएका थिए।
स्थलगत भ्रमणका क्रममा एसपी भट्टराईले स्थानीय बासिन्दासँग समेत भेटघाट गर्दै प्रहरीको गतिविधिबारे सुझाव तथा गुनासा सुनेका थिए। उनले समुदायमा हुने आपराधिक गतिविधि वा कुनै पनि शंकास्पद घटनाको जानकारी तत्काल प्रहरीलाई, आवश्यक परे आफूलाई समेत, दिन स्थानीयसँग आग्रह गरेका छन्।
प्रहरी नेतृत्वको यस भ्रमणले ग्रामीण क्षेत्रमा जनमैत्री प्रहरी सेवा प्रवाह, अपराध नियन्त्रण तथा प्रहरी–समुदाय सम्बन्धलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएका थिए ।









