हरिकिशोर शर्मा / साउन १८ जिराभवानी पर्सा ।
पर्साको जिराभवानी गाउँपालिकामा गाउँपालिका अध्यक्षको कार्यकक्षमा गत श्रावण १३ गते लगाइएको ताल्चा सर्वपक्षीय छलफल तथा सहमतिपछि आज खोलिएको छ। गाउँपालिकामा देखिएको विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्ने उद्देश्यले आयोजित बैठकपछि कार्यकक्षको ताल्चा खोल्दै साँचो प्रमूख प्रशासकीय अधिकृत अमित गिरी र पालीका अध्यक्षलाई साँचो हस्तानतरण गरिएको हो।
गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ को बजेट, विकास निर्माणका योजना, शिक्षा, स्वास्थ्य, रेडबुक तथा पालिकाका समग्र गतिविधिबारे विस्तृत छलफल गरिएको थियो। छलफलमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, उपाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
बैठकमा पालिकाको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने विषयमा सहभागीहरूले आ–आफ्नो धारणा राखेका थिए। स्थानीय, बुद्धिजीवी, समाजसेवी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उपस्थितिमा समस्या समाधानका उपायबारे सकारात्मक छलफल भएको बताइएको छ।
छलफलका क्रममा स्थानीय अगुवा कृष्ण चौधरीले गाउँपालिकाको विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो। उहाँले जनताको चासो, गुनासा र मागलाई समयमै सम्बोधन गर्दै आपसी सहमति र संवादमार्फत समाधान खोज्नु नै सबैभन्दा उपयुक्त उपाय हुने धारणा व्यक्त गर्नुभयो।
सकारात्मक वातावरणमा सम्पन्न भएको छलफलपछि अध्यक्षको कार्यकक्षमा लगाइएको ताल्चाको साँचो सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको कृष्ण चौधरीले जानकारी दिनुभयो।
स्थानीयवासीले पनि संवाद र सहमतिमार्फत विवाद समाधान भएकोमा खुशी व्यक्त गर्दै अब गाउँपालिकाले विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरेका छन्।









