आठघरेका पुर्व विद्यार्थीले बाघमोर्चाका सबै विद्यार्थीलाई गरे ब्याग र स्टेशनरी सहयोग

 

हरिकिशोर शर्मा / साउन १५ जिराभवानी पर्सा ।

विद्यालय छोडेको धेरै वर्ष बितेपनि आठघरेका युवाहरुले जन्मथलोको विद्यालय र त्यहाँ अध्ययन गरिरहेका साना भाइबहिनीहरुलाई फेरि एकपटक सम्झिएका छन्। विद्यालय छोडेर परदेशमा रहेका ठोरी -५ आठघरेका पुर्व विद्यार्थीहरुले शुक्रबार ठोरी गाउँपालिका–५, सुवर्णपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाघमोर्चाका विद्यार्थीलाई स्कुल ब्यागदेखि फूटबलसम्म सहयोग गरेका हुन्।

ठोरी–५ को आठघर घर भई वैदेशिक रोजगारीमा रहेका विद्यालयका पूर्वविद्यार्थीहरूको समूहले विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको सो विद्यालयका प्रधानाध्यापक रन्जित कार्कीले जानकारी दिनुभयो । अभियानको नेतृत्व आठघरे घर भई वैदेशिक रोजगारीमा रहेका पूर्वविद्यार्थी निमा तामाङ लोप्चनले गर्नुभएको थियो । प्रधानाध्यापक कार्कीका अनुसार शुक्रबार प्रत्येक विद्यार्थीलाई एक/एक वटा विद्यालय ब्याग, ६ वटा कापी, ४ वटा पेन र २ वटा पेन्सिल प्रदान गरिएको छ । यस्तै विद्यालयको खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले एक थान फूटबल पनि प्राप्त भएको उहाँले बताउनुभयो ।

सो सामाग्री विद्यालयमा आयोजित एक कार्यक्रममा बालबालिकालाई हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बागविर लोप्चनको अध्यक्षतामा आयोजित सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापकबाट स्वागत मन्तव्य व्यक्त गर्दै पूर्व विद्यार्थीहरूको सहयोगले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। श्रृष्टि लामाकाे सहजीकरण रहेकाे कार्यक्रममा शिक्षा प्रेमी, पूर्व विद्यार्थी तथा अभिभावकहरू बिर बहादुर लोप्चन, दावा लोप्चन, दिपेश लोप्चन, पासाङ लोप्चन, आईतमान दोङ, विनिता स्याङ्वो, सुवास लामा, अमिसा लामा, सोमरानी दोङ, फुल बहादुर स्याङ्वो , प्रेम पाख्रीन लगायतकाे उपस्थिति रहेको थियो।

यस्तै ठोरीका सबै सामुदायिक विद्यालयमा असार २४ गतेसम्म वर्षे बिदा भएपनि सो विद्यालयमा भने सिकाइ गतिविधी रोकिएको छैन। प्रधानाध्यापक कार्कीका अनुसार बिदाको समयमा पनि हरेक दिन बिहान ९ बजेदेखि ११:३० बजेसम्म नियमित पठनपाठन सञ्चालन भइरहेको छ। बिदाका समयमा पनि विद्यार्थीको सिकाइमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले विद्यालयले विशेष कक्षा सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो। त्यसका लागि प्रधानाध्यापक कार्की आफैं नियमित विद्यालय जाने गरेका छन् कार्कीले बताएका थिए ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित