पैसा नदिँदा ७ दिनदेखि फोहोर नउठाएको आरोप : वीरगञ्ज–७ को विद्यालयमा दुर्गन्ध, महानगरको ध्यानाकर्षण

 

अभिलाष गुप्ता

वीरगञ्ज/१४ साउन

वीरगञ्ज महानगरपालिका–७ अन्तर्गत कुम्हालटोल क्षेत्रमा फोहोर व्यवस्थापनमा गम्भीर लापरवाही भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। फोहोर उठाउने ट्याक्टरका चालक तथा उनीसँगै आएका व्यक्तिले “यो महानगरपालिकाको निर्देशन हो” भन्दै व्यक्तिगत रूपमा पैसा माग्ने गरेको आरोप लागेको छ। यस सम्बन्धी भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषयले थप चर्चा पाएको छ।

कुम्हालटोलस्थित द चिल्ड्रेन गार्डेन मन्टेसरीकी सञ्चालिका रोशनी श्रीवास्तवका अनुसार विद्यालयको फोहोर विगत ७ दिनदेखि जानाजानी नउठाइएको छ। डस्टबिनमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको र यसले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने चिन्ता व्यक्त गर्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्।

उनले आफू एक साताका लागि भारत गएको र फर्किएपछि विद्यालय परिसरमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको देखेको बताइन्। कर्मचारीसँग बुझ्दा फोहोर उठाउने टोलीले हरेक हप्ता व्यक्तिगत रूपमा पैसा माग्ने गरेको र पैसा नदिएपछि फोहोर नउठाएको जानकारी पाएको उनको दाबी छ।

“विद्यालयमा साना बालबालिका अध्ययन गर्छन्। फोहोरका कारण संक्रमण फैलिने जोखिम बढेको छ। भोलिका दिनमा कुनै विद्यार्थीलाई स्वास्थ्य समस्या भए त्यसको जिम्मेवारी कसले लिने?” भन्दै सञ्चालिका श्रीवास्तवले चिन्ता व्यक्त गरिन्।

स्थानीयका अनुसार फोहोर उठाउने ट्याक्टरका चालक तथा उनीसँगै रहेका व्यक्तिले व्यक्तिगत रूपमा रकम माग्दै त्यसलाई महानगरपालिकाको निर्देशन भएको दाबी गर्ने गरेका छन्। यस विषयमा सार्वजनिक भएको भिडियोले पनि घटनाप्रति थप प्रश्न उठाएको छ।

स्थानीयवासी तथा विद्यालय प्रशासनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न, नियमित रूपमा फोहोर संकलनको व्यवस्था मिलाउन तथा यस्ता गतिविधि दोहोरिन नदिन वीरगञ्ज महानगरपालिका र वडा नं. ७ कार्यालयसँग माग गरेका छन्।यस विषयमा वीरगञ्ज महानगरपालिका तथा वडा कार्यालयको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित