श्रावण १४ देखि खुल्दै भाथा बाबा दर्शन, धार्मिक पर्यटनमा नयाँ सुरवात

 

हरिकिशोर शर्मा / साउन १२ जिराभवानी पर्सा

 

चुरे पहाडको काख, घना जंगलको शान्त वातावरण र धार्मिक आस्थाको केन्द्र—पर्सा राष्ट्रिय निकुञ्जभित्र अवस्थित भाथा बाबा मन्दिरमा यही श्रावण १४ गतेदेखि भक्तजन तथा पर्यटकका लागि प्रवेश खुला हुने भएको छ। धार्मिक पर्यटनको सम्भावनाले भरिएको भाथा बाबालाई प्रकृति, वन्यजन्तु र स्थानीय संस्कृतिसँग जोडेर ठोरीको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास अघि बढाइएको छ।

 

ठोरी–५ सुवर्णपुर चोकदेखि करिब १८ किलोमिटर उत्तरतर्फ रहेको भाथा बाबा क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा परिचित छ। नेपालका विभिन्न भूभागसँगै भारतका सीमावर्ती क्षेत्रबाट समेत हरेक वर्ष ठूलो संख्यामा श्रद्धालुहरू भाथा बाबा दर्शनका लागि आउने गरेका छन् । मन्दिर दर्शनसँगै जंगल सफारी, प्राकृतिक दृश्यावलोकन र वन्यजन्तु अवलोकनसमेत गर्न सकिने भएकाले भाथा बाबा यात्रा धार्मिक पर्यटनसँगै प्रकृति पर्यटनको नयाँ आकर्षण बन्ने सम्भावना बढेको छ । श्रद्धालु तथा पर्यटकको यात्रालाई सहज बनाउन सुनखरी मध्यवर्ती होमस्टे, ठोरी–५, सुवर्णपुरले भाथा बाबा दर्शनका लागि जिप यातायात तथा जिप सफारीको व्यवस्था गरेको छ। जिप सफारीमार्फत भाथा बाबा दर्शनसँगै निकुञ्ज क्षेत्रको प्राकृतिक वातावरण र जैविक विविधताको अवलोकन गर्न सकिनेछ ।

 

सुनखरी मध्यवर्ती होमस्टेका अध्यक्ष शम्भुराम पौडेलले भाथा बाबा क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रमा मात्र सीमित नराखी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय समुदायको सक्रियता आवश्यक रहेको बताए। उनका अनुसार पर्यटकको आगमन बढाउन सके स्थानीय उत्पादनको बजारीकरण, होमस्टे व्यवसाय, यातायात तथा रोजगारीका अवसरसमेत विस्तार गर्न सकिनेछ।

भाथा बाबा क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गरी ठोरीको पर्यटनसँग पनि जोड्न खोजिएको सुवर्णपुरका समाजसेवी चन्द्र नेवारले बताए। नेवारका अनुसार धार्मिक तथा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको भाथा बाबा क्षेत्रको व्यवस्थित प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके ठोरीको पर्यटनमा नयाँ आयाम थपिने छन् ।

 

उनका अनुसार भाथा बाबा क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन सडक तथा यातायातको सहजता, सरसफाइ, पर्यटक सुरक्षा, सूचना केन्द्र, विश्रामस्थल तथा आवश्यक पूर्वाधारमा ध्यान दिन आवश्यक छ। स्थानीय समुदाय, मध्यवर्ती क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज तथा सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य हुन सके यस क्षेत्रले धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सक्ने अपेक्षा गरिएको छ।

विशेषगरी श्रावण महिनामा धार्मिक पर्यटकको चहलपहल बढ्ने भएकाले भाथा बाबा दर्शन यात्रालाई व्यवस्थित बनाउन स्थानीयस्तरमा तयारी थालिएको छ। भक्तजनलाई दर्शन, पर्यटकलाई प्रकृति र साहसिक यात्राको अनुभूति तथा स्थानीय समुदायलाई आर्थिक अवसर दिने गरी भाथा बाबा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावना देखिएको छ ।

 

सुनखरी मध्यवर्ती होमस्टेले आगन्तुकका लागि जिप यातायात तथा जिप सफारी, एसीसहितको आरामदायी होमस्टे, स्थानीय मौलिक परिकार, निकुञ्ज भ्रमण तथा प्राकृतिक अवलोकनको सुविधा उपलब्ध गराउने जनाएको छ । भाथा बाबा दर्शन तथा जिप सफारी र होमस्टे सेवाका लागि 9860104767 / 9819223082 मा सम्पर्क गर्न सकिनेछ । धर्म, प्रकृति र पर्यटनको त्रिवेणी भाथा बाबा केवल दर्शन गर्ने धार्मिक स्थल मात्र नभई चुरेको प्राकृतिक सौन्दर्य, पर्सा राष्ट्रिय निकुञ्जको जैविक विविधता, स्थानीय संस्कृति र सामुदायिक आतिथ्यलाई एकैपटक अनुभव गर्न सकिने सम्भावनायुक्त गन्तव्य हो। यसको व्यवस्थित प्रचारप्रसार र पूर्वाधार विकास गर्न सकिए ठोरीलाई धार्मिक तथा प्राकृतिक पर्यटनको आकर्षक केन्द्र बनाउने अभियानमा भाथा बाबा महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ । श्रावण १४ देखि खुल्दै गरेको भाथा बाबा दर्शन यात्रा ठोरीको पर्यटन प्रवर्द्धनका लागि एउटा नयाँ अवसरका रूपमा हेरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित