स्वास्थ्य मन्त्रालयको अपिल : नारायणी अस्पतालको घटना संयमतापूर्वक समाधान गर्दै स्वास्थ्य सेवा नियमित गर्न आग्रह

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाई नियमित स्वास्थ्य सेवा सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. मिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उपचारका क्रममा ज्यान गुमाएका बिरामीप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

विज्ञप्तिमा घटनापछि अस्पताल परिसरमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्यकर्मीले सुरक्षित र निर्भय वातावरणमा सेवा दिन पाउने अधिकार सुनिश्चित गरिनुपर्नेमा मन्त्रालयले जोड दिएको छ।

मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन आग्रह गर्दै सर्वसाधारणलाई अस्पतालको सेवा अवरुद्ध नहुने वातावरण निर्माणमा सहयोग गर्न अनुरोध गरेको छ।

उपचारका क्रममा स्वास्थ्यकर्मीबाट कुनै कमजोरी वा त्रुटि भएको आशंका भए त्यसको कानुनी प्रक्रिया अनुसार निष्पक्ष छानबिन हुने व्यवस्था रहेको स्पष्ट पार्दै मन्त्रालयले स्वास्थ्य संस्थामा हुने तोडफोड, हिंसा तथा स्वास्थ्यकर्मीमाथिको आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने जनाएको छ। यस्ता गतिविधिप्रति सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले सेवाग्राही र सेवा प्रदायक दुवैले जिम्मेवार, संयमित र संवेदनशील व्यवहार गर्नुपर्ने मन्त्रालयको भनाइ छ। साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ सुरक्षित वातावरणमा सेवा प्रवाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित