वीरगंज/१० साउन
नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडको विरोधमा वीरगंजका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघ, नारायणी शाखाको आह्वानमा आइतबारदेखि आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएको छ। माग सम्बोधन नभए आकस्मिक सेवासमेत बहिष्कार गर्दै आन्दोलनलाई थप सशक्त बनाइने संघले जनाएको छ।
शनिबार बिहान वीरगंज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेललाई गम्भीर अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएपछि आक्रोशित परिवारजन तथा स्थानीयवासीले अस्पताल परिसरमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड गरेका थिए। सो क्रममा ड्युटीमा रहेका चिकित्सक डा. प्रमोद राममाथि कुटपिटसमेत भएको थियो।
आक्रमणबाट गम्भीर घाइते भएका डा. रामको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
घटनापछि अस्पताल प्रशासन, प्रहरी, पीडित पक्ष तथा सरोकारवालाबीच भएको छलफलबाट घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरिएको थियो। साथै घटनाका बेला आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम, डा. रामकिशोर सिंहसहित पाँच जना स्वास्थ्यकर्मीलाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरिएको थियो।
उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघ, नारायणी शाखाले अनिश्चितकालीन आन्दोलन घोषणा गरेको हो। आइतबार बसेको शाखाको बैठकले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाही गर्न, निलम्बनको निर्णय फिर्ता लिन, छानबिन समिति खारेज गर्न तथा स्वास्थ्य संस्थामाथि हुने अनधिकृत हस्तक्षेप रोक्न माग गरेको छ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई गम्भीर अपराधको संज्ञा दिँदै मुलुकी अपराध संहिता, २०७४ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७९ अनुसार दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
नेपाल चिकित्सक संघ, नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ताले चिकित्सकहरूको माग पूरा नभएसम्म नारायणी अस्पतालसहित वीरगञ्जका सरकारी, निजी तथा मेडिकल कलेजहरूमा आन्दोलन जारी रहने र आवश्यक परे आकस्मिक सेवासमेत बहिष्कार गरिने चेतावनी दिए।
यसैबीच, नेपाल चिकित्सक संघ केन्द्रीय समितिले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केन्द्रीय अध्यक्ष डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निलम्बन गर्ने निर्णयप्रति असहमति जनाउँदै आक्रमणमा संलग्न दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।
संघले दोषीलाई कारबाही नगरिए तथा निलम्बनको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।









