पर्सा/१० साउन
सामाजिक उत्तरदायित्वअन्तर्गत रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले पर्साको श्री दलित आधारभूत विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग प्रदान गरेको छ। अत्यधिक गर्मी तथा विद्यालयमा आवश्यक आधारभूत पूर्वाधारको अभावका कारण विद्यार्थीहरूको पठनपाठनमा भइरहेको असहजतालाई मध्यनजर गर्दै उक्त सहयोग गरिएको क्लबले जनाएको छ।
रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रामबिनय यादवको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीयवासी तथा क्लबका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गर्दै क्लबले शिक्षा क्षेत्रमा सामाजिक सेवामूलक अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा अध्यक्ष रामबिनय यादव, आलोक यादव, आर्यन गुप्ता तथा मनीष सर्राफको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले विद्यार्थीहरूलाई सहज, सुरक्षित र अनुकूल शैक्षिक वातावरण उपलब्ध गराउन यस्ता सहयोगमूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए।
यस सहयोग कार्यक्रमलाई सफल बनाउन आवश्यक ७ थान पंखाको व्यवस्थापनमा विशेष योगदान पुर्याउने प्रकाश कर्ण तथा अन्य सहयोगी दाताप्रति रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष रामबिनय यादवले शिक्षा क्षेत्रमा गरिने साना–साना सहयोगले पनि विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै विद्यालय, विद्यार्थी तथा समुदायको हितमा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय परिवारले रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस र सहयोगी दाताप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त पंखाले गर्मीका समयमा विद्यार्थीहरूको अध्ययन–अध्यापनलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।









