वीरगंज/१० साउन
गुरुपूर्णिमाको पावन अवसरमा विद्या सदन सेकेन्डरी स्कुल, मुर्ली, वीरगंज –१२, पर्साको आयोजनामा सम्पन्न “अन्तरविद्यालय कला महोत्सव–२०८३” ले वीरगंजका बालबालिकाको सिर्जनात्मक प्रतिभालाई उजागर गर्दै शैक्षिक तथा सांस्कृतिक सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
वीरगंजका १० प्रतिष्ठित विद्यालयको सहभागिता रहेको महोत्सवमा विद्यार्थी, शिक्षक तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयहरूबीच आपसी सद्भाव, सहकार्य र बालबालिकामा निहित कलात्मक क्षमताको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।
कार्यक्रमका लागि नेपाल कमर्सियल आर्टिस्ट संघ, पर्साका अध्यक्ष मनीष श्रेष्ठलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको भए पनि उहाँ आफ्नी आमाको स्वास्थ्य उपचारका कारण कार्यक्रममा उपस्थित हुन सक्नुभएन। कार्यक्रममा सहभागीहरूले उहाँकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
प्रमुख अतिथिको अनुपस्थितिमा हिन्दू संस्कृतिको परम्पराअनुसार पञ्चकन्याको प्रतीकस्वरूप पाँच जना साना बालिकाबाट दीप प्रज्वलन गरी महोत्सवको औपचारिक उद्घाटन गरिएको थियो। उद्घाटनको यो दृश्य कार्यक्रमको विशेष आकर्षण बनेको थियो।
महोत्सवअन्तर्गत नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई समेटेर पाँच समूहमा कला प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा बालबालिकाले चित्रकलामार्फत आफ्नो कल्पनाशीलता, सिर्जनशीलता र कलात्मक क्षमता प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए।
प्रतियोगिताका निर्णायक तथा आइडियल एकेडेमीका प्रधानाध्यापक विकास राईले सहभागी विद्यार्थीहरूको कलात्मक प्रतिभाको खुलेर प्रशंसा गर्दै सानै उमेरमा उनीहरूले प्रदर्शन गरेको सिर्जनशीलता अत्यन्त प्रेरणादायी रहेको बताए। उनले कला शिक्षाले बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै निरन्तर अभ्यास गर्न प्रेरित गरेका थिए। विद्यालयले उहाँप्रति सम्मानस्वरूप ‘टोकन अफ लभ’ प्रदान गरेको थियो।
प्रतियोगिताको नतिजाअनुसार समूह ‘क’ (नर्सरी) मा GHP Secondary School की बिनिता चौरसिया प्रथम, New Wave Secondary School की आकृति कुमारी द्वितीय तथा Mini Land English Secondary School की अनुराधा कुशवाहा तृतीय भइन्।
समूह ‘ख’ (एल.के.जी.) मा GHP Secondary School की अन्जुला राम प्रथम, विद्या सदन सेकेन्डरी स्कुलकी सोनिया मण्डल द्वितीय तथा साइमा खातुन तृतीय भइन्।
समूह ‘ग’ (यू.के.जी.) मा GHP Secondary School का सुन्दरम कलवार प्रथम, विद्या सदन सेकेन्डरी स्कुलका आहान अली द्वितीय तथा अनाया अली तृतीय भए।
समूह ‘घ’ (कक्षा १–२) मा GHP Secondary School का अमन कुमार साह प्रथम, विद्या सदन सेकेन्डरी स्कुलकी शिवानी महतो द्वितीय तथा GHP Secondary School की साक्षी गुप्ता तृतीय भइन्।
त्यसैगरी समूह ‘ङ’ (कक्षा ३–५) मा मनकामना सेकेन्डरी स्कुलकी आरुषी कुमारी प्रजापति प्रथम, GHP Secondary School की आरती सिंह द्वितीय तथा New Wave Secondary School की नैना कुमारी तृतीय भइन्।
विजेता विद्यार्थीहरूलाई सहभागी विद्यालयका प्रधानाध्यापकहरूको हातबाट शील्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी प्रत्येक विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। यसले प्रतियोगितामा सहभागी सबै विद्यार्थीको मनोबल बढाउने र उनीहरूलाई थप सिर्जनात्मक गतिविधितर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा विद्यालयका कक्षा १० का विद्यार्थी आयान अन्सारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कक्षा ८ की छात्रा अफ्रिन खातुनले कार्यक्रमको आकर्षक सञ्चालन गरेकी थिइन्।
विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समापन मन्तव्य दिँदै उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने निर्णायक, शिक्षक, अभिभावक, सहभागी विद्यालयका प्रधानाध्यापक, विद्यार्थी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।
गुरुपूर्णिमाको अवसरमा आयोजित अन्तरविद्यालय कला महोत्सव–२०८३ ले वीरगंजका विद्यालयहरूबीच शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै बालबालिकामा रहेको सिर्जनशील प्रतिभाको पहिचान, प्रोत्साहन र कला शिक्षाप्रतिको रुचि अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ छ।









