पर्सागढी–५ जिगनामा सांसद सुशील साह कानुको जनसंवाद : मलखाद, सडक, स्वास्थ्य र शिक्षाका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता

 

पर्सा, ९ साउन

प्रतिनिधिसभा सदस्य सुशील साह कानुले पर्साको पर्सागढी नगरपालिका–५ जिगनामा स्थानीयवासीसँग प्रत्यक्ष जनसंवाद गर्दै विकास निर्माण तथा जनजीविकासँग सम्बन्धित विविध विषयमा छलफल गरेका छन्। स्थानीयका समस्या, आवश्यकता र सुझाव प्रत्यक्ष रूपमा सुन्न आयोजित कार्यक्रममा कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायतका विषय प्रमुख रूपमा उठाइएको थियो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका यातायात विभाग प्रमुख राम आर्य, रास्वपा पर्सा क्षेत्र नम्बर–२ का सचिव किशन प्रसाद, रास्वपा वीरगञ्ज नगर सभापति दीपराज पटेल लगायत स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

छलफलका क्रममा किसानहरूले खेतीपातीको मुख्य समयमा रासायनिक मलखादको अभाव हुने समस्या समाधान गरी समयमै मल उपलब्ध गराउन माग गरेका थिए। त्यसैगरी गाउँका सडक तथा नाला निर्माण, स्वास्थ्य सेवाको पहुँच विस्तार, शिक्षा क्षेत्रको गुणस्तर सुधार तथा अन्य आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका थिए।

स्थानीयवासीका गुनासा र सुझाव सुनेपछि सांसद साहले उठाइएका सबै विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विकास निर्माणका योजना स्थानीयको वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा अघि बढाइने तथा जनसहभागितामूलक विकासलाई जोड दिइने बताए।

सांसद साहले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादले स्थानीय समस्या पहिचान गर्न र प्रभावकारी समाधान खोज्न सहज हुने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने पनि बताए।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले जनप्रतिनिधिसँग प्रत्यक्ष रूपमा आफ्ना समस्या राख्न पाएकोमा खुसी व्यक्त गर्दै कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका क्षेत्रमा शीघ्र कार्यान्वयन हुने अपेक्षा व्यक्त गरेका थिए। जनप्रतिनिधि र स्थानीयबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको थियो।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित